हेटौंडाः हेटौंडा अस्पतालमा एकदिने निःशुल्क मुटुरोग शिविर सुरु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा शनिबार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मुटुरोग शिविर हुने भएको हो । परीक्षणका लागि ६ सय जना सेवाग्राहीले टिकट लिएको अस्पतालले जनाएको छ । निःशुल्क मुटुरोग शिविरमा शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी काठमाडौंका मुटुरोग विशेषज्ञबाट सेवा दिएका छन् ।
शिविरमा ७ जना विशेषज्ञ र ४ प्राविधिक गरी ११ जनामार्फत् बिरामीलाई सेवा दिएको छ । शिविरमा मुटुसम्बन्धी रोगबाहेकका इसीजी, इको कर्डियो, रगत जाँच, प्रेसर, सुगरसम्बन्धी रोगीहरुलाई निःशुल्क सेवा प्रदान गरिने हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । शिविरमा टिकट र औषधी पनि निःशुल्क गरिएको बताउनुभयो । ५ वटा मेशिनमार्फत् ईको सेवा प्रदान गरिएको छ ।