हेटौंडाः नेपालीहरुको महान चाड दशैं, तिहार र छठ नजिकिँदै आएको छ । चाडपर्व नजिकिएसँगै सरकारले लामो समयदेखि गर्दै आएको लकडाउन खुला गरेको छ । बजारका सबै पसल, होटल, बार, सेमिनार, पार्टी प्यालेस, पर्यटकीय, धार्मिक क्षेत्रहरु खुलेका छन् । मकवानपुरका पनि यी सबै क्षेत्रहरु खुला भइसकेको छ । सबै क्षेत्र खुलेसँगै भिडभाड देखिन थालेको छ ।
चाडपर्व नजिकिँदै गर्दा समाजमा विभिन्न आपराधिक गतिविधि बढ्ने गर्दछ । विशेषगरी चाडपर्वमा मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने, झैझगडा गर्ने, धेरै समूहमा जम्मा भएर तासजुवा खेल्ने, पसल–घरमा चोरी बढ्ने, सवारी साधनहरुमा यात्रा गर्दा यात्रुबाट चर्को भाडा असुली गर्ने, ट्राफिक व्यवस्थापनजस्ता धेरै चुनौती बढ्ने हुन्छ ।
मकवानपुरमा चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालयले सुरक्षा निगरानी कडाई गर्ने भएको छ । यस्ता सबै क्रियाकलाप हुन नदिन प्रहरीले यो वर्ष चाडपर्व लक्षित गर्दै सुरक्षा निगरानी कडाई गर्ने भएको हो ।
सुरक्षा कडाई गर्न विशेष राजमार्गमा केन्द्रित प्रहरी गस्ती, चोक–चोल, टोल–टोल, गाउँ–गाउँसम्म प्रहरीको गस्ती दिनरात खटिने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो । प्रहरीहरु समयतालिका बनाई पैदल गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती र भ्यान गस्तीमा खटिई सुरक्षा प्रदान गर्नेछ ।
यस्तै, मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिकामा २ स्थानमा हेल्प डेस्कसमेत स्थापना गर्ने भएको छ । हेटौंडा–१५ रातोमाटेस्थित सुरक्षा चेकिङ पोष्ट र हेटौंडा–२ स्थित लोकप्रिय चोकमा रहेको सुमो काउन्टरमा प्रहरीले हेल्प डेस्क सञ्चालन गर्ने भएको हो ।
चाडपर्वमा मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्ने गर्दछन् । यातायात व्यवसायीहरुले सवारी साधनमा सवार गर्दा यात्रुहरुसँग चर्को भाडा असुली गर्ने गर्छन् । विशेषगरी हेटौंडा बजारबाट लामा दुरीमा चल्ने सवारी साधनहरुले चर्को भाडा लिने गरेको पाइन्छ । यातायात व्यवसायीले ठगी गर्ने र दुःख दिएमा प्रहरीले कारबाही गर्ने र निर्धारित भाडादर कायम गराउन प्रहरीले निगरानी गर्नेछ ।
प्रहरीले ट्राफिक व्यवस्थापनमा पनि कडाई गर्ने भएको छ । मुख्य लोकमार्गमा हुनसक्ने दुर्घटना, जामजस्ता समस्या हुन नदिन यो अभियान थालनी गरेको हो । दशैंलाई मध्यनजर गर्दै मानिसहरु चाडपर्वमा मादकपदार्थ सेवन गरेर सवारी साधन चलाउने गर्छन् । मादकपदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने सम्भावना हुन्छ । प्रहरीले मादकपदार्थ सेवन गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने, लाइसेन्सबिना सवारी साधन चलाएमा कडा कारबाही गर्ने जनाएको छ ।
यस्तै, टोलटोलमा प्रहरी राति पनि गस्तीमा खटिने भएको छ । टोलटोलमा ठूलो संख्यामा बसी जुवातास खेल्ने, जाँड–रक्सी सेवन गरी झैझगडा गर्नेजस्ता क्रियाकलापहरु हुन नदिन प्रहरी गस्तीमा खटाइने भएको हो । यस्तै धार्मिक र पर्यटकीय क्षेत्रहरुमा प्रहरी गस्ती गरिने भएको छ । धार्मिक र पर्यटकीय क्षेत्रमा खराब क्रियाकलापहरु हुन नदिन प्रहरीको गस्ती बढाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले घटस्थापनादेखि छठसम्मको सुरक्षाको नयाँ रणनीति बनाएको छ ।