हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्थाको पञ्चवर्षीय रणनीतिक योजना–२०७८ पारित भएको छ । चालु आर्थिक वर्षबाट सुरु भएर आर्थिक वर्ष २०८२-८३ सम्म पञ्चवर्षीय रणनीतिक योजना लागू हुनेछ । शनिबार सम्पन्न सहकारीको २० औं वार्षिक साधारणसभाबाट पञ्चवर्षीय योजना पारित गरिएको हो ।
सहकारीकी अध्यक्ष जानकी चौधरीले पञ्चवर्षीय योजनाको प्रस्तुती गर्नुभएको थियो । सहकारीले पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा सेयर सदस्य संख्यामा दोब्बर भन्दा बढी वृद्धि गर्ने लक्ष्य लिएको छ । अहिले तीन हजार एक सय ६४ जना सेयर सदस्य रहेको सहकारीले पञ्चवर्षीय योजनाको समाप्तिको अवधिमा दोहोरोपनरहित सात हजार सेयर सदस्य बनाउने लक्ष्य लिएको छ ।
पञ्चवर्षीय योजनाको समाप्तिको अवधिमा सहकारीको सेयर पुँजी ५ करोड ५९ लाख रुपैयाँ, बचत संकलन ८२ करोड १७ लाख रुपैयाँ र ऋण लगानी ७६ करोड ७३ लाख रुपैयाँ पुर्याउने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । सहकारीले पञ्चवर्षीय रणनीतिक योजनाको समाप्तिसम्ममा मुख्य कार्यालयसहित ११ वटा सेवाकेन्द्रबाट सेवा प्रदान गर्ने, शनिबार र सार्वजनिक विदाको दिनमा पनि सेवा सुचारु राख्ने लक्ष्य लिएको छ ।
असोज १० गतेदेखि सुरु भएको साधारणसभाको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष चौधरीले सहकारीले गरेका क्रियाकलापका बारेमा पनि जानकारी गराउनुभएको थियो । सहकारीको आयोजनामा वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता, निशूल्क स्वास्थ्य शिविर, महिला अधिकारसम्बन्धी गोष्ठी, कोभिड–१९ महामारीको अवधिमा ऋणीलाई व्याज छुटलगायतका कार्य गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको आर्थिक विकास महाशाखाकी प्रमुख गंगाकुमारी चौलागाईले नगरभित्र दर्ता भएका सहकारीहरु उल्लेख्य संख्यामा निष्क्रिय रहेको उल्लेख गर्नुभयो । सहकारी संस्थाहरुको नियमनमा उपमहानगरले ध्यान दिइरहेको र सहकारीमा समस्याहरु नरहेको पनि चौलागाईले स्पष्ट पार्नुभयो । निष्क्रिय रहेका सहकारीलाई खारेज गर्ने अधिकार नभएका कारण भने उपमहानगरपालिकालाई समस्या भएको उहाँको भनाइ थियो ।
सञ्जीवनीले साधारणसभाको अवसरमा असल बचतकर्ता, ऋणी, बालबचतकर्ता, अधिकतम् बचतकर्ता, उत्कृष्ट कर्मचारी, विद्यार्थीलाई सम्मान गरेको छ । साधारणसभाको समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा सदस्य सरस्वती दाहाल, भगवती विश्वकर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी उपाध्यक्ष मीना चौरेल, सहकारीका संस्थापक अध्यक्ष पूर्णबहादुर खनाल, निवर्तमान अध्यक्ष रणबहादुर कार्कीको पनि उपस्थिति रहेको थियो ।