मनहरीः मनहरी गाउँपालिकाको आयोजनामा शिक्षासम्बन्धी आपतकालीन योजना तर्जुमा कार्यशाला बिहीबार सम्पन्न भएको छ । सामुदायिक विकास संस्था (सीडीओ) नेपालको समन्वय तथा प्लान इन्टरनेशनलको सहयोगमा भएको कार्यक्रममा गाउँपालिकाभित्रका १६ वटा सामुदायिक विद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बुधबार र बिहीबार २ दिन सञ्चालन भएको कार्यक्रममा नवराज थापाले विपद्को विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले विद्यालयमा विपद्को अवस्था पहिचान गर्ने, त्यसको न्यूनीकरण गर्ने तथा पूर्वतयारी गर्ने, यसबाट विद्यार्थीहरुलाई कसरी सजग गराउनेलगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी विद्यालयका प्रतिनिधिहरुले ४ समूह बनाएर पालिकास्तरीय पृष्ठभूमि, मनहरी गाउँपालिकाभित्रका सम्भावित विपद्हरु, शैक्षिक अवस्था तथा विद्यालयमा आइपर्ने विपद्का विषयमा सामूहिक प्रस्तुति गरिएको थियो । हाल मनहरी गाउँपालिकामा ८ वटा मावि, ६ वटा निमावि तथा १८ वटा प्रावि गरी ३२ वटा सामुदायिक विद्यालयहरु रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा रहेका ८ वटा माविमध्ये ३ वटा विद्यालयमा १२ कक्षासम्म अध्ययन हुने र ५ वटा विद्यालयमा १० कक्षासम्म अध्ययन हुने जनाइएको छ । यस्तै, २ वटा विद्यालयमा सीप विकास कार्यक्रमअन्तर्गत् प्राविधिक शिक्षा प्रदान गरिँदै आएको पनि गाउँपालिकाले जानकारी दिएको छ ।
मनहरी गाउँपालिकाको शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सीडीओ नेपाल मकवानपुरका कार्यक्रम संयोजक अर्जुन खड्कालगायत विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।