हेटौंडा–४ स्थित अजरअमर रोडमा नो पार्किङ क्षेत्रमा पार्किङ गरेर राखिएका सवारी साधनहरु ।

हेटौंडाः हेटौंडा बजार क्षेत्रमा पार्किङ व्यवस्थापन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले एक हप्ते अभियान सुरु गरेको छ ।

हेटौंडाको बजार क्षेत्रमा पार्किङ व्यवस्थापन हुन नसक्दा ट्राफिक जाम हुने, पैदलयात्रु समेत दुर्घटनाको जोखिममा हुने हुनाले ट्राफिक व्यवस्थापनका लागि अभियान नै सञ्चालन गरेको जिल्ला ट्राफिक मकवानपुरका प्रमुख प्रकाश पाण्डे जानकारी दिनुभयो ।

बिहीबारबाट हेटौंडाको विभिन्न सडकखण्डहरुमा पार्किङका लागि छुट्याइएको ठाउँमा मात्र पार्किङ गर्न पाउने, एक साइड पार्किङ निमय लागु गरिने प्रमुख पाण्डेले बताउनुभयो ।

हेटौंडा बजार क्षेत्रका सबैजसो सडक साँघुरो हुनु, दसैं नजिकिँदै गर्दा मानिसहरु तथा सवारी साधनहरुको भिडभाड हुने हुनाले ट्राफिक व्यवस्थापन लागि अभियान सुरु गरेको प्रमुख पाण्डेको भनाइ छ । ट्राफिक व्यवस्थापन अभियान असोज १२ गतेसम्म सञ्चालन हुनेछ ।