हेटौंडाः देशकै सबैभन्दा सर्वाधिक धनराशिको उपाधी पुरस्कार भएको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता र प्रदेश लिग फुटबल प्रतियोगिताको विषयमा अखिल नेपाल फुटबल संघ एन्फा र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास परिषद्बिच सम्झौता भएको छ । शुक्रबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीबिच दुबै प्रतियोगितामा प्रदेश सरकारले सहकार्य गर्दै १ करोड रुपैयाँ प्रदान गर्ने गरी सम्झौता भएको हो ।
देशकै सबैभन्दा पुरानो लिग फुटबलको रुपमा समेत रहेको ए डिभिजन लिगलाई बागमती प्रदेश सरकारले ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ । शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गर्दै एन्फा अध्यक्ष शेर्पा र सदस्य सचिव भण्डारीले बागमती प्रदेशको आर्थिक वर्ष २०७८/०७९को बजेट कार्यक्रममै ‘ए’ डिभिजन लिगलाई ५० लाख रुपैयाँ सहयोग प्रदान गर्ने उल्लेख गरिएअनुसार यसलाई कार्यान्वयन गर्नका लागि सम्झौता गरिएको जानकारी दिनुभयो । सम्झौताअनुसार प्रदेश सरकारले ए डिभिजन लिगमा हुने ९१ वटा खेलमा प्रत्येक खेलको विजेता टिमलाई म्याचमनिको रुपमा ५० हजार रुपैयाँको दरले रकम प्रदान गरिने छ । खेल बराबरी भएमा दुबै टिमलाई २५/२५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।
सम्झौतामा भएको नियमअनुसार उक्त रकम खेलसकिएको १ हप्ता भित्रमा सम्बन्धित खेलको विजेता टिमको बैंक खातामा सामाजिक विकास मन्त्रालयले नै रकम उपलब्ध गराइने छ । यसरी ९१ खेलका लागि ४५ लाख ५० हजार रुपैयाँ, प्रतियोगितामा उदयमान खेलाडी (राइजिङ प्लेयर)का लागि १ लाख रुपैयाँ तथा प्रतियोगिता सम्बन्धि अफिसियल खर्चका लागि ३ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै प्रदेशकै योजना कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँ बजेट परेको प्रदेश लिग प्रतियोगिता आयोजना गर्न पनि एन्फा र परिषद् बिच सम्झौता भएको छ । प्रदेशले आयोजना गर्ने प्रदेश प्रतियोगिता र प्रदेश लिग फुटबललाई सँगसँगै आयोजना गर्ने गरी सम्झौता भएको हो । प्रदेश फुटबल लिग संचालनको लागि ५० लाख रुपैयाँ बागमती प्रदेशले प्रदान गर्नेछ भने बाँकी आवश्यक पर्ने रकम एन्फाले नै व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सामाजि विकास मन्त्रालयका सचिव यज्ञ प्रसाद ढुङ्गेल, प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना, बागमती प्रदेश फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा लगायतकाको उपस्थिति रहेको थियो ।