हेटौंडाः मकवानपुर जिल्लाका सबै आइसोलेसन सेन्टर बन्द भएको छ । कोभिड
संक्रमण दर बढ्दै गएपछि सञ्चालनमा आएका आइसोलेसन सेन्टर कोरोना
संक्रमण न्यून भएपछि बन्द भएका हुन् ।
हेटौंडा–६, गौरीटारमा १ सय २० बेड रहेको आइसोलेसन सञ्चालनमा आएको
थियो । हेटौंडा उपमहानगरपालिकाले १५ बेडबाट १ सय २० बेडसम्म क्षमता
विस्तार गरी आइसोलेसन सेन्टर सञ्चालन गर्दै आएको थियो ।
यसैगरी जिल्लामा संक्रमितहरुको चाप बढेसँगै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन
केन्द्रको बैठकले मकवानपुरको २ निजी अस्पतालले पनि आइसोलेसन सञ्चालन गर्दै
आएका थिए । हेटौंडाको चुरेहिल अस्पतालमा १० बेडको आइसोलेसन रहेको
थियो । यसैगरी मनहरी गाउँपालिकाको २५ बेडको आइसोलेसन सेन्टर अहिले
बन्द छ ।
हेटौडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार
संक्रमण देखिएकाहरु सबै संस्थागत आइसोलेसनमा भन्दा होम आइसोलेसनमा बस्न
रुचाएका कारण संस्थागत आइसोलेसनहरु बन्द भएका हुन् । तर होम आइसोलेसनमा
बसेकाहरुले कोरोना संक्रमण भइसकेपछि पालना गर्नुपर्ने कुनै पनि सुरक्षाका
मापदण्ड अपनाएका पाइँदैन । होम आइसोलेसनमा बस्दा छुट्र्र्टै बस्नुपर्नेलगायतका
स्वास्थ्य सुरक्षाका मापदण्ड लागू हुन सकेको छैन ।
संक्रमित भएकाहरु अधिकांश परिवारमा घुलमिल भएर बसेका छन् । संक्रमितहरु
परिवारको अन्य सदस्यसँगै खाने, बाहिर निर्धक्कसाथ हिँडिरहेका छन् । दैनिक ३०
देखि ४० जना कोरोना संक्रमण पुष्टि भएपनि संक्रमण हुने सबै होम
आइसोलेसनमा नै बस्ने गर्दछन् ।
मकवानपुरको सन्दर्भमा कोरोना परीक्षण गर्न दिएकाहरु रिपोर्ट नआएसम्म
बजारमा घुमिरहेका हुन्छन् । संक्रमण पुष्टि भइसकेपछि पनि अधिकांश बाहिर
हिँडिरहेका छन् । होम आइसोलेसनमा बसेकाहरुको निगरानी स्थानीय सरकारले
गर्नुपर्ने भएपनि गर्न सकेको देखिँदैन ।
हेटौंडामा सरदरमा दैनिक ४०–५० जनाको मात्र स्वाब संकलन हुने गर्दछ । स्वाब
संकलन दर बढाएर टोलटोलमा कोरोना परीक्षणको मात्रा बढाउन सकिएको छैन ।
संक्रमण देखिएकालाई सुरक्षाका मापदण्ड अपनाएर संस्थागत आइसोलेसनमा बस्न
आग्रह गर्नेसमेत कुनै निकाय पनि भेटिन्न । मकवानपुरमा हाल ३ सय २ जना
संक्रिय संक्रमित छन् । ३ सय २ जना संक्रमितमध्ये २८ जना संस्थागत
आइसोलेसनमा र बाँकी २ सय ७४ जना होम आइसोलेसनमा बसेका छन् ।
हाल जिल्लामा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ६१ पुगेको छ ।
कोरोना पोजेटिभ देखिएका सबैलाई सुरक्षाको मापदण्ड अपनाएर संस्थागत
आइसोलेसनमा बस्न लाउने गरे कोरोना संक्रमण कम हुनसक्छ । अहिले
मानिसहरुमा कोरोनाको त्रास पनि देखिँदैन ।