हेटौंडाः सरकारले खेलकुदको क्षेत्रमा बजेट खर्च गर्दै आएता पनि क्रिकेटलाई
आवश्यक ध्यान पुर्याउन सकेको छैन । खेलकुद क्षेत्रका लागि बिनियोजन हुने
बजेटबाट फुटबलको क्षेत्रमा गर्ने गरेको खर्चअनुसार क्रिकेट क्षेत्रलाई भने
बेवास्ता गर्दै आएको क्रिकेट क्षेत्रका पदाधिकारीहरुले आरोप लगाउँदै आएका
छन् ।
सरकारले क्रिकेटको विकासमा आवश्यक ध्यान दिन नसकेको कुरा पछिल्लो समय
मकवानपुरको क्रिकेट क्षेत्रको घटनाले प्रष्ट हुन्छ । पछिल्लो समय मकवानपुरका
क्रिकेट खेलाडीहरुले देश छाड्ने क्रम बढ्दै गएको छ । बर्षौदेखि क्रिकेटमा
आबद्ध खेलाडीहरु एकाएक देश छाडेर भारत जान सुरु गरेका छन् । देशमा क्रिकेट
प्रशिक्षणका लागि आवश्यक पूर्वाधार नहुँदा आधारभूत प्रशिक्षणका लागि समेत
खेलाडीहरु नेपाल नै छाडेर भारत जान थालेका हुन् । मकवानपुर क्रिकेट टिमका
कप्तान रामनरेश गिरीसहित अधिकांश खेलाडीहरु क्रिकेट प्रशिक्षणकै लागि
व्यक्तिगतरुपमा महंगो शुल्क तिर्दै भारत प्रस्थान गरेका छन् ।
देशमा क्रिकेट प्रशिक्षणका लागि आवश्यक पूर्वाधार, स्तरीय प्रशिक्षण केन्द्रका
साथै प्रशिक्षकहरुको अभावकै कारण पनि खेलाडीहरु भारत गएको क्रिकेटका
राष्ट्रिय अम्पायर बिनोदकुमार बानियाँले बताउनुभएको छ । हुन त पछिल्लो समय
नेपालको राष्ट्रिय टिमका लागि प्रयासरत मकवानपुरका खेलाडीहरु टिममा पर्न
असफल देखिँदै आएका छन् । खेल क्षेत्रमा लागेपछि राष्ट्रका लागि खेल्नु हरेक
खेलाडीको सपना हुन्छ, तर राष्ट्रिय टिममा पर्नका लागि क्षमता भएर पनि आवश्यक
प्रशिक्षणकै अभावका कारण टिममा पर्न नसकेपछि खेलाडीहरु भारत गएर प्रशिक्षण
लिन बाध्य भएको देखिन्छ ।
नेपालमा केही प्रशिक्षकहरु भए पनि सर्टिफाइड नहुनाले खेलाडीहरु भारतको दिल्ली
तथा जयपुर प्रशिक्षणका लागि गएको अम्पायर बानियाँले बताउनुभयो । मकवानपुर
क्रिकेट टिमका तक्षक सिम्खडा, शुभ कंशाकार, सुमन सुनारलगायत लगभग ६ जना
खेलाडी ३ महिने एडभान्स ट्रेनिङका लागि दिल्ली पुगेको उहाँले जानकारी
दिनुभयो । उहाँको अनुसार खेलाडीहरुले ३ महिनाको प्रशिक्षणका लागि
प्रतिव्यक्ति ३६ हजार भारतीय रुपैयाँ अर्थात् झण्डै ६० हजार नेपाली रुपैयाँ
शुल्क बुझाउनेछन् । यसैगरी रामनरेश गिरी र रिजन ढकाल भने केही लामो समय
प्रशिक्षण गर्नका लागि जयपुर गएका छन् । उनीहरु प्रशिक्षणपछि उतैको क्लबमा
आबद्ध भएर क्रिकेट खेल्ने बताइएको छ ।
भारतको क्लबस्तरका तथा स्टेट लेभलका खेलाडीहरुले नेपालका राष्ट्रिय टिमका
खेलाडीहरु भन्दा पनि अब्बल प्रदर्शन गर्ने भएकाले नेपाली खेलाडीहरु भारत
प्रशिक्षण गर्न गएको मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठले
बताउनुभयो । खेलाडीहरुले आफूलाई उत्कृष्ट बनाउन चाहेकै हुन्छन् तसर्थ पनि
उनीहरुको आफ्नो इच्छाअनुसार केही राम्रो होला भन्ने आशामा पनि
खेलाडीहरु प्रशिक्षणका लागि भारत गएका उहाँको भनाई छ । क्रिकेटले देशलाई
अन्तर्राष्ट्रिय सफलता प्रदान गरेपनि सरकारले लोकप्रियताको आधारमा बजेट खर्च
गर्ने गरेको भन्दै अध्यक्ष श्रेष्ठले असन्तुष्टि व्यक्त गर्नुभयो ।
सरकारले लोकप्रियताको आधारमा फुटबललाई मात्र हेर्ने गरेको उहाँको
आरोप छ । मकवानपुर जिल्लाकै सन्दर्भमा प्रदेश तथा स्थानीय सरकारले विभिन्न
स्थानमा फुटबल मैदान निर्माण गरिरहेको भएपनि क्रिकेट मैदान निर्माण गर्न
कुनै चासो नदेखाएको श्रेष्ठले बताउनुभयो । हेटौंडाको हुप्रचौरमा सानो
मैदान बनाएर खेलाडीहरुले प्रशिक्षण गर्ने गरेको भए पनि व्यवस्थित मैदान
निर्माण गर्न नसकिएको उहाँको भनाई छ । मैदान निर्माण तथा क्रिकेटको
विकासका लागि धेरै पटक पहल गर्दासमेत चासो नदेखाइएको पनि उहाँले जानकारी
दिनुभयो ।
संघीय सरकारअन्तर्गत् राष्ट्रिय खेलकुद परिषद् र प्रदेश सरकारअन्तर्गत् प्रदेश
खेलकुद विकास परिषद्ले फुटबललाई जस्तै क्रिकेटलाई पनि ध्यान दिएर क्रिकेट
प्रशिक्षणका लागि अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकसहित पूर्वाधारको विकास गरिदिने
हो भने प्रशिक्षणका लागि भारत पुग्ने खेलाडीहरुले अझै धेरै मिहिनेत गरेर
देशका लागि उच्च प्रदर्शन गर्ने अध्यक्ष श्रेष्ठले दाबी गर्नुभयो ।