आरबी पौडेल हेटौंडा -९

कुनै समय तिमी अमुल्य छौ भन्नेले
अचेल दुई कौडिको भाउमा गन्छ
बिहे अघि जुन तारा झार्छु भन्नेले
बिहे पछि बङ्गारा र दारा झार्छु भन्छ
किनकी जब सिउँदोले सिन्दुरको धर्को पायो
अनि उस्को कुरा अर्को आयो ।

कुनै समय घर परिवारले तारिफ गर्थे
अचेल कुनै हालतमा हुन्न भन्छन्
बिहे अघि उसैको बोली पनि मिठो लाग्थ्यो
बिहे पछि उसले पकाको छुदै छुन्न भन्छन्
किनकी जब वास्तबिकता जात र थरको आयो
अनि परिवारको कुरा अर्को आयो ।

कुनै समय सँगै लुकामारी खेल्नेहरु
अचेल एकअर्काको डाहा गर्न थाले
बिहेअघि बुवाआमाको साथमा रम्नेहरु
बिहेपछी सम्पतीकै चाहा गर्न थाले
किनकी जब अंशबण्डा बारी र घरको आयो
अनि दाजुभाइ बिचकै कुरा अर्को आयो ।

कुनै समय सात जुनि सँगै काट्छु भन्नेहरु
अचेल आधी बाटोमै छाडेर गइरहेछन्
उ बिना एकछिन एक्लै बस्न नसक्नेहरु
खै किन हो आजभोली अन्जान भइरहेछन्
किनकी जब आर्थिक संकट चर्को छायो
अनि मायालुकै कुरा अर्को आयो ।