
हेटौंडाः मामाघर नेपाल मकवानपुरका सल्लाहकार सुदर्शनप्रसाद अधिकारीले मामाघर नेपालमा भौतिक संरचना निर्माण गरी हस्तान्तरण गर्नुभएको छ । हेटौंडा–११ मा अवस्थित मामाघर नेपालको परिसरमा बाँकी रहेको कम्पाउण्ड वाल, पालेघर तथा मुख्य प्रवेशद्वार निर्माण गरी मामाघर नेपाललाई हस्तान्तरण गर्नुभएको हो ।
अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई निर्मित भौतिक संरचना हस्तान्तरण गर्नुभएको हो । मामाघर नेपाल मकवानपुरको स्थापना कालदेखि नै मामाघर नेपालमा जन्मदिन मनाउँदै आउनु भएका अधिकारीले यस वर्ष मामाघर नेपालका लागि २ लाख ७० हजार रुपैयाँ खर्चेर भौतिक संरचना निर्माण गर्नुभएको मामाघरका संरक्षक अर्पण पराजुलीले जानकारी दिनुभयो ।
अधिकारीले निर्माण गरिदिनुभएको प्रवेशद्वारलाई ‘सुदर्शन द्वार’ नामाकरण गरिएको पराजुलीले बताउनुभयो । स्थापनाकालदेखि नै अभिभावकीय भूमिका निर्वाह गरी सडक बालबालिका व्यवस्थापनमा सहयोग गर्नुभएको र अहिले पनि व्यक्तिगतरुपमा यति ठूलो सहयोग गर्नु भएकोमा अधिकारीलाई मामाघर नेपाल मकवानपुरले धन्यवाद व्यक्त गरेको छ ।
हेटौंडाका समाजसेवी सिद्धिलाल श्रेष्ठले दानस्वरुप दिनुभएको जग्गामा ‘एक व्यक्ति, एक इट्टा’ अभियान सञ्चालन गरी भवन निर्माण गरेको मामाघर नेपाल स्थानीय दान, चन्दा र उपहारमा सञ्चालित परोपकारी संस्था हो ।