हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले नमुना बाल विकास कार्यक्रमअन्तर्गत् विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । उपमहानगरभित्रका तीनवटा विद्यालयको बाल विकास कक्षालाई आवश्यक टिभी, खेलकुद सामग्रीलगायत सहयोग गरिएको हो ।
हेटौंडा—१४ स्थित भृकुटी मावि, हेटौंडा— १२ स्थित बुद्ध मावि र हेटौंडा—६ स्थित कृष्ण प्राविलाई नमुना बाल विकासको रुपमा छनौट गरी सामग्री हस्तान्तरण गरिएको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिनुभयो ।
हेटौंडा उपमहानगरपालिकाका आन्तरिक स्रोतबाट ६ लाख रुपैयाँको सामग्री खरिद गरी तीनवटा विद्यालयमा हस्तान्तरण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बिहीबार सामग्री हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको उपस्थिति रहेको थियो ।