चुरियामाई सुरुङ्गमार्ग पुनर्निर्माणको शिलान्यास गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल ।

हेटौंडाः एसियाकै सबैभन्दा पहिलो सुरुङमार्गको पुनर्निर्माण गर्ने कार्यको सुरुवात भएको छ । वि.सं. १९७४ सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा इन्जिनियर डिल्लीजंग थापाले निर्माण गर्नुभएको १ सय ४ वर्ष पुरानो चुरियामाई मन्दिर परिसरमा रहेको सुरुङमार्ग पुनर्निर्माण गर्न बिहीबार शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सुरुङमार्ग पुनर्निर्माणका लागि शिलान्यास गर्नुभएको छ । बागमती प्रदेश सरकारले एक शताब्दी पुरानो सुरुङमार्गको संरक्षणका लागि बजेट विनियोजन गर्दै पुनर्निर्माण गर्न थालनी गरेको हो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत् यातायात पूर्वाधार निर्देशनालयले जारी गरेको राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र, ईकाई दर ठेक्काको आधारमा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड स्युचाटार, काठमाडौंले सुरुङमार्ग पुनर्निर्माणको ठेक्का प्राप्त गरेको जनाइएको छ ।

चुरियामाई सुरुङ्गमार्गको पुनर्निर्माण कार्यको शिलान्यास कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलसहित अन्य सहभागीहरु ।

आगामी बैशाख १९ गतेसम्ममा पुनर्निर्माण सक्ने गरी ३ करोड ३६ लाख १३ हजार ८ सय ७८ रुपैयाँमा पुनर्निर्माणको सम्झौता गरिएको निर्देशनालयले जनाएको छ । पीएस र मूल्य अभिवृद्धि करसहित आयोजनाको कुल लागत भने ४ करोड ५७ लाख २० हजार ७ सय ७ रुपैयाँ अनुमान गरिएको निर्देशनालयका प्रमुख सहदेव भण्डारीले जानकारी दिनुभयो ।

गत बैशाख १९ गते नै पुनर्निर्माणको लागि सम्झौता गरिएको निर्देशनालयले जनाएपनि कोरोनाका कारण शिलान्यास भने आज बिहीबार गरिएको हो । १ सय ४ वर्ष अगाडि निर्माण हुँदा ५ सय मिटर लम्बाई रहेको सुरुङमार्ग हाल १ सय ९८ मिटर रहेको छ । सोही बाँकी रहेको सुरुङको पुनर्निर्माण हुने जनाइएको छ । जसको चौडाई साढे २ मिटर र उचाई ३ मिटर रहेको छ । १ सय ९८ मिटर लम्बाईको सुरुङमार्गको साथसाथै इन्लेट तथा आउटलेट पोर्टल, गार्डघर तथा उत्तर पोर्टलमा ढुंगा तथा माटोको कार्य गरिने जनाइएको छ । बिहीबार शिलान्यास कार्यक्रममा ठेकेदार कम्पनीका इन्जिनियर मिथिलेश साहले पुनर्निर्माणको काम गुणस्तरीयरुपमा समयमा नै सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

चुरियामाई सुरुङ्गमार्गको पुनर्निर्माण कार्यको शिलान्यासपछि सामुहिक तस्बिर खिचाउने क्रममा ।

निर्देशनालयका प्रमुख सहदेव भण्डारीको सभाध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, बागमती प्रदेशका मुख्यसचिव मुकुन्द पौडेल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, राष्ट्रिय युवा परिषद् बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।