हेटौंडाः मकवानपुरमा फरक–फरक स्थानमा ४ जनाको शव फेला परेको छ । मकवानपुरगढी गाउँपालिकाका २ जना, थाहा नगरपालिकाका एक जना र हेटौंडा उपमहानगरपालिकाका एक जनाको शव फेला परेको हो ।
आइतबार ४ जनाकै शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको प्रहरी जवान राज बोहराले जानकारी दिनुभयो । फेला परेको शवमध्ये मकवानपुरगढी गाउँपालिका–८ का ७२ वर्षीय वृद्ध भीमलाल मोक्तानको शव घरनजिकको थाँक्रोमा झुन्डिएको अवस्थामा शनिबार फेला परेको हो । मोक्तानको आइतबार शव हेटौंडा अस्पतालमा पोष्टमार्टम भएको छ । वृद्धले आत्महत्या नै गरेको पुष्टि भएको छ ।
यस्तै, मकवानपुरगढी गाउँपालिका–६ मा आइतबार ५६ वर्षीय कर्णसिंह लोको पनि शव झुन्डिएरको अवस्थामा शव फेला परेको हो । लोको पनि आइतबार हेटौंडा अस्पतालमा शव पोष्टमार्टम भएको छ ।
थाहा नगरपालिका–३, पालुङका ४६ वर्षीय पुरुष मधु विष्टको पनि शव फेला परेको छ । विष्टको भिरबाट लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । विष्टको पनि आइतबार हेटौंडा अस्पतालमा पोष्टमार्टम भएको छ ।
यस्तै, हेटौंडा उपमहानगरपालिका–१९ स्थित नेवारपानीमा ४४ वर्षीय पुरुष नेत्रबहादुर नेपालीको पनि झुन्डिएको अवस्थामा शव फेला परेको छ । नेपालीकोे पनि आइतबार नै हेटौंडा अस्पतालमा शव पोष्टमार्टम भएको छ ।