हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा मनहरी सामुदायिक पुस्तकालय स्थापना हुने भएको छ । मनहरी गाउँपालिका–७, मनहरी बजारस्थित रोटरी माविको छात्रावास भवनमा आगामी शनिबार पुस्तकालय उद्घाटन गरिने भएको छ । पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा पुस्तकालय स्थापना गरिन लागेको हो ।
पुस्तकालय सञ्चालनका लागि समिति समेत गठन गरिएको छ । मंगलबार एक भेलाको आयोजना गरेर इन्द्रमणि स्याङ्तानको अध्यक्षतामा १५ सदस्यीय पुस्तकालय सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा जयराम पराजुली, सचिवमा मनोज मोक्तान, सहसचिवमा अस्मिता कार्की र कोषाध्यक्षमा सुजिता थिङ चयन भएका छन् ।
सदस्यमा पुकार सुवेदी, भुवन कुमार गौतम, सुकलाल थिङ, निरशंकर ब्लोन, नवीन मुक्तान, निरज सुवेदी, उमेश राई, सुजन पाठक र सीता सापकोटा चयन भएका छन् । यस्तै पुस्तकालयको सल्लाहकारमा टंकबहादुर मुक्तान, गोविन्द प्रसाद पौडेल, नवीन सुवेदी, प्रकाश बर्तौला, नारायण उप्रेती, जयराम अर्याल, दीपक पुलामी र हेमलाल उप्रेतीलाई सल्लाहकार चयन गरेको छ ।
पुस्तकालय अभियान समूह मकवानपुरले पुस्तकालय स्थापनाका लागि ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गर्नेछ । मनहरीमा पुस्तकालय स्थापनाका लागि भइरहेको तयारीको विषयमा पुस्तकालय अभियान समूह मकवानपुरका सदस्यहरुले बुधबार अवलोकन गर्नुका साथै मनहरी सामुदायिक पुस्तकालयका पदाधिकारीहरुसँग अन्तरक्रिया समेत गरेको छ ।
पुस्तकालय अभियान समूहका सदस्यहरु नरेन्द्र भण्डारी, जीवन शर्मा, सुरेश श्रेष्ठ र कृष्ण लामिछानेले मनहरी सामुदायिक पुस्तकालयका पदाधिकारीसँग अन्तरक्रिया गरेको हो । पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा यसअघि हेटौंडा–७ मा समृद्ध पुस्तकालय, हेटौंडा–६ मा शान्ति पुस्तकालय, बकैया गाउ“पालिकामा बकैया पुस्तकालय र भीमफेदी गाउँपालिकामा ज्योति पुस्तकालय स्थापना भइसकेको छ ।
मनहरीमा पुस्तकालय स्थापनाका लागि पुस्तकालय अभियान समूहको सहयोग महत्वपूर्ण भएको उल्लेख गर्नुहुँदै मनहरी सामुदायिक पुस्तकालयका अध्यक्ष इन्द्रमणि स्याङ्तानले पालिकाको समेत सहयोगमा पठन संस्कृतिको विकास गर्ने गरी पुस्तकालय सञ्चालन गरिने बताउनुभयो । मनहरी गाउँपालिकाले मनहरी सामुदायिक पुस्तकालयलाई ५० हजार रुपैयाँ सहयोग गर्ने निश्चित भइसकेको मनहरी सामुदायिक पुस्तकालयका सदस्य पुकार सुवेदीले जानकारी दिनुभयो । पुस्तकालय स्थापना भएर सञ्चालनमा आएपछि पालिकाले थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको सुवेदीले बताउनुभएको छ ।