सचेत नागरिकद्वारा क्याम्पा रंगशालालाई सहयोग हस्तान्तरण गरिँदै ।

हेटौंडाः सचेत नागरिक समुह मकवानपुरले हेटौंडा–५ मा निर्माण भइरहेको क्याम्पा रंगशाला निर्माण गर्न २ सय बोरा सिमेन्ट सहयोग प्रदान गरेको छ । बुधबार सचेत नागरिक युवा समुहका अध्यक्ष शिव नारायण श्रेष्ठको सभाध्यक्षतामा निर्माणधिन रंगशालामै सहयोग हस्तान्तरण कार्यक्रमको आयोजना गरी सिमेन्ट प्रदान गरिएको हो ।

पिप्ले युवा क्लबले निर्माण गरिरहेको क्याम्पा मिनि रंगशाला जनस्तरबाट निर्माण भइरहेकाले गर्दा सचेत नागरिकहरुले सहयोग प्रदान गर्नु दायित्व भएकाले समुहका १० जना युवाहरुले मिलेर २ सय बोरा सिमेन्ट सहयोग गरिएको युवा समुहका सल्लाहकार नरेन्द्र भण्डारीले बताउनुभयो । रंगशाला निर्माणका लागि हेटौंडा–९ का नरेन्द्र भण्डारीसहित हेटौंडा–१८ का अनल श्रेष्ठको संयोजनमा हेटौंडा–२ का नवीन जोशी, हेटौंडा–४ का हरिकृष्ण मैनाली, हेटौंडा–२ का बिनोद शर्मा, हेटौंडा–४ का रुपकराज दाहाल, हेटौंडा–४ कै सन्जिव श्रेष्ठ, हेटौंडा–२ का भीमसेन कर्माचार्य, हेटौंडा–५ का जीवन कार्की र इन्द्रसरोबर–२ का चेतबहादुर थापाले संयुक्त रुपमा सहयोग प्रदान गर्नुभएको छ ।

सबैजनाले २०/२० बोराका दरले सिमेन्ट सहयोग प्रदान गर्नुभएको जनाइएको छ । सहयोगी दाताहरुले रंगशालामै आएर सहयोग प्रदान गर्नुहुँदा एकदमै खुसी साथै काम गर्न थप हौसला मिलेको पिप्ले युवा क्लबका अध्यक्ष सुशिल घिमिरेले बताउनुभयो । हालसम्म कसैसँग सहयोग माग्न नपरेको र सबैले आफुखुसी रंगशालामै आएर सहयोग प्रदान गरिरहनुभएको पनि उहाँले जानकारी दिनुभयो ।

नेपाल बक्सिङ महासंघका महासचिव सविन भट्टाचार्यको प्रमुख अतिथ्यतामा भएको हेटौंडा–५ का वडा अध्यक्ष राजेश बानियाँ, वडा सदस्य ज्ञान बहादुर थापा मगर लगायतको उपस्थिति रहेको थियो ।