हेटौंडा–२ स्थित अञ्चल आयुर्वेद औषधालय ।

हेटौंडाः जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आईतबारबाट सःशुल्क रुपमा आफ्नो सेवाहरु प्रदान गर्ने भएको छ । स्वास्थ्य केन्द्रले हालसम्म निशुल्क रुपमा प्रदान गर्दै आइरहेको सेवाहरु न्युनतम शुल्क निर्धारण गरेर प्रदान गरिने भएको हो ।

स्वास्थ्य केन्द्रकी डा. सृष्टि श्रेष्ठको अनुसार हाल प्रदान गर्दै आइरहेका सेवाहरुअन्तर्गत बहिरङ्ग सेवा (ओपिडी), फिजियोथेरापी, पुर्वकर्म, पञ्चकर्म, योग, क्षारसूत्र, प्रयोगशाला परीक्षण लगायतका सेवाहरुलाई सःशुल्क बनाइएको छ । आर्थिक वर्ष २०७८/०७९ मा सुरुवातबाट नै स्वास्थ्य केन्द्रबाट सःशुल्क सेवा प्रदान गरिने पूर्व निर्णयअनुसार निर्णयअनुसार नै आईतबारबाट सेवा सःशुल्क बनाइएको उहाँले बताउनुभयो ।

स्वास्थ्य केन्द्रमा ओपिडीको सेवा लिए बापत २० रुपैयाँ तथा फिजियोथेरापीको सेवा लिए बापत १ सय रुपैयाँ बुझाउनुपर्ने डा. श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी अन्य सेवाहरुको पनि न्युनतम शुल्क निर्धारण गरिएको उहाँको भनाई छ । स्वास्थ्य केन्द्रबाट हाल २३ किसिमका औषधीहरु निशुल्क प्रदान हुँदै आएको छ । यसै महिनाभित्र फार्मेसी समेत सञ्चालन गरी थप औषधीहरु सःशुल्क प्रदान गरिने पनि उहाँले बताउनुभयो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको मातहतमा हाल मकवानपुर जिल्लामा ४ वटा नगरिक आरोग्य सेवा केन्द्र रहेको छ । जुन मकवानपुरको थाहा नगरपालिका, बागमती गाउँपालिका, बकैया गाउँपालिका र कैलाश गाउँपालिकामा रहेका छन् । यसैगरी हेटौंडा उपमहानगरपालिकाको संरक्षणमा रहनेगरी हटिया आयुर्वेद औषधालय र चुरियामाई आयुर्वेद औषधालय तथा राक्सिराङ गाउँपालिकामा काँकडा आयुर्वेद औषधालय संचालनमा रहेका छन् ।