हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडामा मास्क अभियान सञ्चालन गर्न हेटौंडामा विभिन्न संघसंस्थाहरुलाई निर्देशन दिएको छ । आज मंगलबारदेखि एक हप्तासम्म हेटौंडाको भिडभाड हुने विभिन्न स्थानमा मास्क अभियान सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले निर्देशन दिनुभएको हो ।
हेटौंडामा हुँदै आएको निषेधाज्ञा आइतबारबाट थप खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो भएसँगै मकवानपुर जिल्लाभित्र निजी तथा सार्वजनिक सवारी साधनहरु बिना रोकटोक चल्न थालेका छन् । विशेषगरी हेटौंडा बजार क्षेत्रमा व्यवसाय तथा यातायातहरु खुलेपछि चहलपहल बढेको छ । यस्तै कोरोना संक्रमणको प्रभाव अझै कायमै रहेकाले जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन निर्देशन दिँदै आएको छ । बजार क्षेत्रमा पनि धेरैजसो व्यक्तिहरु मास्क नै नलगाई र न्यूनतम भौतिक दुरीको पालनासमेत नगरी हिँड्ने गरेको पाइएको छ ।
यसै सन्दर्भमा सार्वजनिक स्थलहरुमा हिँडडुल गर्दा मास्क लगाउन, भौतिक दूरी पालना गराउनलगायतका जनस्वास्थ्यका मापदण्डहरु पालना गराउन अभियान नै सञ्चालन गर्नुपर्ने देखिएकाले हेटौंडा बजार क्षेत्रमा मास्क अभियान सञ्चालन गरिएको प्रजिअ पाण्डेले बताउनुभयो । हाललाई एक हप्ताका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म हेटौंडाका विभिन्न क्षेत्रमा अभियान सञ्चालन गर्न हेटौंडामा रहेका विभिन्न संघसंस्थाहरुलाई स्थानअनुसार जिम्मेवारी प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । प्रजिअ पाण्डेका अनुसार मंगलबार बिहान ७ बजेदेखि हेटौंडाका १२ स्थानमा मास्क अभियान सञ्चालन गरिनेछ भने बैंकर्स, यातायात र लेखापढीका संघसंस्थाहरुले पनि आफ्नो कार्यक्षेत्रमा मास्क अभियान सञ्चालन गर्नेछन् ।
जिल्लास्तरमा कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कामलाई सहज, छिटोछरितो र प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८’ को दफा १७ बमोजिम जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले मास्क अभियानका लागि संघसंस्थाहरुलाई जिम्मेवारी बाँडफाँड गरेको छ । जिम्मेवारी प्राप्त संघसंस्थाहरुले तोकिएको स्थानमा आवश्यकताअनुसार स्वयम्सेवक परिचालन गरी बुथ निर्माण, मास्क, सेनिटाइजरलगायतका सामग्रीहरु उपलब्ध गराई डेस्क सञ्चालन गर्नुपर्ने निर्णयमेत गरिएको छ ।
जसअनुसार हेटौंडाको बसपार्कमा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल, हेटौंडाले अभियान सञ्चालन गर्नेछ । हेटौंडा बजारको सीमाचोकमा अभियान सञ्चालन गर्ने जिम्मेवारी जिल्ला सहकारी संघ मकवानपुरलाई दिइएको छ । बुद्धचोक र मानसचोकमा अभियान सञ्चालन गर्ने जिम्मेवारी लायन्स क्लब अफ हेटौंडा र लियो क्लब अफ हेटौंडाले संयुक्तरुपमा प्राप्त गरेका छन् । ओम भवन अगाडिको ट्याम्पो पार्कमा रोटरी क्लब अफ हेटौंडाले अभियान सञ्चलान गर्नेछन् । उद्योग वाणिज्य संघ चोक र शीतल महल चोकमा मकवानपुर उद्योग वाणिज्य संघलाई अभियान सञ्चालन गर्न जिम्मेवारी प्रदान गरिएको छ ।
यसैगरी राष्ट्रिय परीक्षा बोर्ड कार्यालयअगाडि राडो नेपाल मकवानपुरले र यातायात कार्यालय अगाडि महिला तथा बालबालिका सरोकार केन्द्रले अभियान सञ्चालन गर्ने भएको छ । यी दुई स्थानमा अभियान सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्ड कार्यालय र यातायात कार्यालयले समेत मास्क, सेनिटाइजरलगायतका सामग्रीहरु उपलब्ध गराउनुपर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
अभियानअन्तर्गत् नै जिल्ला अदालत र उच्च अदालतअगाडि मकवानपुर जिल्ला बार एसोसियसन, रक्तसञ्चार केन्द्रअगाडि नेपाल रेडक्रस सोसाइटी मकवानपुर र हेटौंडा औद्योगिक क्षेत्रको गेटअगाडि उद्योग संघ मकवानपुरले मास्क अभियान सञ्चालन गर्ने गरी निर्णय भएको छ ।
मास्क अभियानलाई दैनिकरुपमा सहजीकरण गर्ने, आवश्यकताअनुसार स्वास्थ्यकर्मी परिचालन गर्ने, फुटपाथ हटाउने, दैनिक माइकिङ गर्ने र नगरप्रहरी परिचालन गर्ने कार्यहरु हेटौंडा उपमहानगरपालिकाले गर्नेसमेत जिम्मेवारी प्रदान भएको छ । हेटौंडाबाहेक अन्य स्थानीय तहहरुको हकमा बढी भिडभाड हुने स्थानहरुको पहिचान गरी स्थानीयरुपमा सक्रिय संघसंस्थाहरुसँग समन्वय गरेर मास्क अभियान सञ्चालन गर्न पनि प्रजिअ पाण्डेले निर्देशन दिनुभएको छ ।
यस्तै बैंकहरुमा भिडभाड नहुने सुनिश्चित गरी सेवा लिन आउने प्रत्येक सेवाग्राहीहरुलाई मास्क उपलब्ध गराउने र अनिवार्य मास्क लगाउन अनुरोध गर्ने काम गर्नका लागि बैंकर्स संघ मकवानपुरलाई जिम्मेवारी प्रदान गरिएको छ । सार्वजनिक सवारी साधनहरुमा प्रत्येक यात्रुलाई मास्क उपलब्ध गराउने र अनिवार्य मास्क लगाउन अनुरोध गर्ने कामको जिम्मेवारी पुरानो नारायणी यातायात कम्पनी प्रालि, नयाँ नारायणी यातायात कम्पनी प्रालि र सार्वजनिक मकवानपुर यातायात प्रालिलाई दिइएको छ । लेखापढी फर्ममा भिडभाड नहुने सुनिश्चित गरी फर्ममा सेवा लिन आउने प्रत्येक सेवाग्राहीहरुलाई मास्क उपलब्ध गराउने र अनिवार्य मास्क लगाउन अनुरोध गर्ने काम नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन मकवानपुरले नै गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पाण्डेको संयोजकत्वममा आइतबार बसेको बैठकमा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, प्रमुख सेनानी राजेश थापा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोर, सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारी, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालका रजिष्ट्रार राजेश प्रसाईं, आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत शालिकराम आचार्य, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायलगायत विभिन्न संघसंस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।