हेटौंडाः हेटौंडाको चुरेहिल अस्पतालमा ३६ जना मृगौलाका बिरामीले डायलासिस सेवा लिइरहेका छन् । ४ वटामात्र डायलासिस मेसिन रहेको चुरेहिल अस्पतालमा नियमितरुपमा ३६ जना मृगौलाका बिरामीहरुले डायलासिस सेवा लिइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालमा डायलासिस मेसिन ४ वटामात्र र बिरामीको संख्या धेरै भएपछि बिरामीलाई सेवा दिन समस्या हुने गरेको चुरेहिल अस्पतालका फार्मेसी इन्चार्ज तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । एकजना बिरामीलाई हप्ताको २ पटक डायलासिस गराउनुपर्ने र ४ ओटा मेसिनले एउटा बिरालीलाई हप्ताको २ पटक डाइलासिस गराउँदा ३६ जना बिरामीलाई मात्र डाइलासिस सेवा प्रदान गर्न सकिने उहाँले बताउनुभयो । ३६ जनाभन्दा बढी बिरामी डायलासिस गराउन आएको अवस्थामा अन्तै पठाउनुपर्ने समस्या भएको पनि श्रेष्ठले बताउनुभएको छ ।
हाल डायलासिस सेवा प्रदान गर्न अस्पतालले बिहान र दिउँसोकोे सिफ्ट गरी २/२ जनाका दरले ४ जना नर्स परिचालन गरेको छ । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म अस्पतालमा डायलासिस सेवा प्रदान गरिँदै आएको छ । चुरेहिल अस्पतालले निःशुल्करुपमा डाइलासिस सेवा प्रदान गर्दै आएको पनि जनाएको छ । डायलासिस मेसिन पर्याप्त नभएकै कारण अस्पतालमा सेवा लिन आउने सबै सेवाग्राहीहरुलाई सेवा दिन नसकिएको र अन्त पठाउनु परेको फार्मेसी इन्चार्ज श्रेष्ठले बताउनुभयो ।
अस्पतालमा कोरोना संक्रमण फैलिनुभन्दा अगाडि दैनिक एक सय ५० जनाभन्दा बढी बिरामीहरु जँचाउनका लागि आउने गरेकोमा हाल एक सय जनाजति बिरामीहरु अस्पतालमा आउने गरेको अस्पतालले जनाएको छ ।