हेटौंडाः बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले कोभिड–१९ (कोरोना भाइरस) बिरुद्धको कोभिशिल्ड खोप (इन्डियन खोप) को पहिलो डोज लगाएर दोस्रो डोज लगाउन नपाएकाहरुले चिनियाँ खोप (भेरोसेल) लगाउन मिल्ने बताउनुभएको छ । शनिबार सामाजिक विकास मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले हाल प्रदेशमा कोभिशिल्ड खोप उपलब्ध नभएकाले लामो समयदेखि दोस्रो डोजको खोप कुरेर बसेकाहरुले भेरोसेल खोप लगाउन मिल्ने बताउनुभएको हो ।
भारतबाट १० लाख कोरोनाको खोप खरिद गर्नका लागि रकम पनि भुक्तानी गरिसकेको अवस्थामा त्यहाँ आफ्नै देशका नागरिकलाई लगाइनसकी खोप नपठाउने भन्ने विषयमा मुद्धा परेर निर्णय भएकाले भारतबाट खोप आउन ढिला भएको उहाँले प्रष्ट पार्नुभयो । यस्तो अवस्थामा के गर्न सकिन्छ भनेर स्वास्थ्य मन्त्रालयका प्रमुखसँग कुर गर्दा कोभिशिल्डको पहिलो डोज लगाएकाहरुलाई त्यो एउटा खोप नष्ट भएपनि भेरोसेलको दुई मात्रा लगाउन मिल्ने मन्त्री बस्नेतले जानकारी दिनुभयो । यसले कुनै असर नगर्ने तथा कोरोनाबिरुद्धमा खोपले गर्ने काम उस्तै हुने बताइएको पनि उहाँले बताउनुभयो ।
प्रदेशका १३ वटा जिल्लामध्ये मकवानपुर र चितवनमा वितरण गर्नमात्र केन्द्रले खोप पठाएको र खोप लगाउने काम जारी रहेकाले गर्दा हालसम्म कति जनाले खोप लगाइसकेका छन् भन्ने पूर्ण विवरण १-२ दिनमा मात्र उपलब्ध हुने सामाजिक विकास मन्त्री बस्नेतले बताउनुभयो । त्यसपछि मात्र बागमती प्रदेशमा कति खोप आए र कुन उमेर समूहका कति जनाले खोप लगाए भन्ने विषयमा जानकारी मिल्ने उहाँले बताउनुभयो ।
यस्तै, कोरोनाको संक्रमणको बेला खट्ने स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता प्रदान गरिने मन्त्री बस्नेतले बताउनुभएको छ । ‘स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय भएको छ र दिइन्छ पनि’, मन्त्री बस्नेतले भन्नुभयो । स्वास्थ्यकर्मीलाई होटलमा बस्न आवश्यक परे होटलबासको व्यवस्था, खाजा भत्ताको व्यवस्था, बिरामी भएको अवस्थामा निःशुल्क सम्पूर्ण उपचारको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो । यदि कुनै स्वास्थ्यकर्मीको मृत्यु भएको खण्डमा उसको परिवारलाई ४० लाख रुपैयाँ दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।
शनिबार सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले मन्त्रालय र मातहतका कार्यालयहरुबाट चालु आर्थिक वर्षमा सम्पादन भएका र आगामी आर्थिक वर्ष २०७८-०७९ मा सम्पादन गरिने मुख्य कामहरुको विषयमा जानकारी गराउनु भएको थियो । उहाँले सामाजिक विकास मन्त्रालयअन्तर्गत् शिक्षा, स्वास्थ्य, खेलकुद, युवा, विज्ञान तथा प्रविधि, सामाजिक विकास क्षेत्र, श्रम तथा रोजगार, व्यावसायिक तथा सीप विकास तालिमलगायतका विषयमा जानकारी प्रदान गर्नुभएको थियो ।
यसैगरी सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख रुद्रहरि भण्डारीले मन्त्रालयले गरेको कार्यसम्पादनको जानकारी मन्त्रालयमा नै सिमित रहेको बताउनुभएको छ । मन्त्रालयले गरेका कामहरु कस्ता भए भनेर मन्त्रालयले जति प्रतिक्रिया पाउनुपर्ने हो, त्यति नभएको उहाँको भनाई रहेको छ । ‘हामीले हाम्रो कामहरुको विषयमा जति अन्तरक्रिया गर्छौं र जति नागरिकको बीचमा पुग्छौं, त्यति राम्रो प्रतिक्रिया पाउने हाम्रो अनुभव छ’, प्रमुख भण्डारीले भन्नुभयो ।