आइप्याड वितरणपछिको सामुहिक तस्विर ।

हेटौंडाः हेटौंडा १० नम्बर वडाले ९ जना विद्यार्थीलाई ट्याब्लेट (आईप्याड) वितरण गरेको छ । अनलाइनबाट पठनपाठन भइरहेको अवस्थामा विद्यार्थीलाई पढाइमा वञ्चित हुन नदिने उद्देश्यले दलित तथा निम्न वर्गका विद्यार्थीलाई आईप्याड वितरण गरिएको वडा अध्यक्ष किताब सिंह लामाले जानकारी दिनुभएको छ ।

संघीय सरकारबाट प्राप्त अनुदान बजेटबाट १ लाख ५० हजार रुपैयाँको आईप्याड खरिद गरी सहयोग गरिएको वडा अध्यक्ष लामाले बताउनुभयो । प्रतिविद्यार्थी १६ हजार ५ सय रुपैयाँका दरले आईप्याड खरिद गरी विद्यार्थीलाई दिइएको हो ।

रवीन सदाशंकर, रिजन सदाशंकर, उत्सव सुनार, रिजन सुनार, श्रीया सामदाम, निश्चल सुनार, धामदादु, रेसा सुनार र प्रकाश सुनारलाई उक्त आईप्याड वितरण गरिएको हो । कार्यक्रममा १० नम्बर वडा सदस्य ईन्द्र नेपाल, धर्म बस्नेत, साधना श्रेष्ठ, उमा सुनार, फुर्बा दोर्जे लामालगायतको उपस्थिति रहेको थियो ।

यस्तै गत बिहीबार ५१ जना बृद्धबृद्धालाई वडाले सम्मान गरेको थियो । संघीय सरकारबाट अनुदान प्राप्त २ लाख रुपैयाँ बजेटबाट ३ हजार ५ सय रुपैयाँका दरले ८० वर्षभन्दा माथिका बृद्धबृद्धालाई सम्मान गरिएको वडा अध्यक्ष लामाले बताउनुभयो । कार्यक्रमलाई १० नम्बर वडाले यस वर्षबाट सुरु गरिए पनि निरन्तरता दिने लामाले जानकारी दिनुभएको छ ।