मकवानपुरमा लगाइएको निषेधाज्ञा खुकुलो हुँदै गए पनि कोरोनाको जोखिम कम भएको छैन । समग्र देशभरको तथ्यांकभन्दा मकवानपुरमा संक्रमणको प्रतिशत कम भएको छैन । परीक्षण कम भएकाले संक्रमितको संख्यामात्र कम देखिएको हो, तर प्रतिशत उस्तै रहेको विज्ञहरुले बताएका छन् । देशभर संक्रमण कम हुँदै गएको छ । तर मकवानपुरमा निरन्तर एकैप्रकारको तथ्यांक आइरहेको छ । देशका अन्य जिल्लाभन्दा मकवानपुरमा किन यस्तो तथ्यांक छ भन्ने विषयमा अध्ययन र विश्लेषण हुन आवश्यक छ । किन संक्रमण कम भएन ? नागरिकको होशियारी र सम्बन्धित निकायको नियमनले मात्र नियन्त्रण सम्भव हुन्छ । कोरोनाको दरमा कमी आएको छैन, तर निषेधाज्ञा खुकुलो बनाइएको छ भने स्वास्थ्य मापदण्ड पालना गर्न छोडिएको छ ।
मकवानपुरमा असार मसान्तसम्मका लागि विषयगतरुपमा बजार सञ्चालनमा केही प्रावधान कायम गरिएको अवस्था छ । विहान एक प्रकारका र दिउँसो अर्को प्रकृतिका पसलहरु सञ्चालन हुँदा बजारमा मानिसहरुको भिड केही कम देखिएको छ । सबै पसलहरु एउटै समयमा खुल्दा स्वभाविकरुपमा भिड बढी नै हुने थियो । असार मसान्तसम्मका लागि अर्धनिषेधाज्ञाको अवस्था देखिएको छ । तर पनि मानिसहरुले समाजबाट कोरोना सकिएको झैं व्यवहार गर्न थालिसकेका छन् । सामान्य भिड भए पनि व्यवहार सुधार नगर्दासम्म जोखिम त उत्तिकै हुनेछ । त्यसैले मानिसको उपस्थिति कम छ भन्दैमा एक अर्कोसँग नजिक हुने वा बिनामास्क हिँड्ने र बोलचाल गर्ने व्यवहार सुरु भएको छ । यही कारण पनि संक्रमण मकवानपुरमा यथावत नै देखिएको हो ।
अघोषितरुपमा सभा सम्मेलनदेखि बैठकहरु हुन सुरु भएको अवस्था छ । एकै ठाउँमा २५ जनाभन्दा बढी मानिसको उपस्थिति नहुन सरकारले गरेको उर्दीको उल्लंघन स्वयम् राज्यका निकायहरुबाटै हुने गरेको छ । सरकारी कार्यालययहरुमा सेवा लिन जानेहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएका मात्र हैनकि, सेवाप्रदायक निकायहरुले समेत सावधानीका लागि सचेत गराउने गरेको पाइँदैन । आफ्नो काम छिटो गराउने प्रयास मानवीय स्वभाव हो । त्यसका लागि उसले कोरोनाको संक्रमणलाई बिर्सिएको हुन्छ । यस्तो अवस्थामा सम्बन्धित कार्यालयका जिम्मेवार व्यक्तिहरुले सचेत गराउने दायित्व हो । तर देखे नदेखे झैं गर्ने प्रवृत्तिले कोरोनालाई आमन्त्रण त गरिरहेका छैनौं ? कामभन्दा पनि ज्यानको सुरक्षामा जिम्मेवार बन्नुपर्दछ ।
मकवानपुरमा सार्वजनिक यातायातका साधन सञ्चालनको अनुमति दिइसकेको अवस्था छैन । सबै प्रकारका साधन सञ्चालन हुने र बजार पनि एकै पटक खुल्ला गर्ने हो भने महामारी बढ्ने निश्चित नै छ । देशभरमा संक्रमणको दर निकै कम देखिए पनि मकवानपुरमा अहिले पनि दैनिक ३० प्रतिशतभन्दा माथि नै संक्रमण पुष्टि हुँदै आएको छ । मानिसहरुले राज्यका लागि स्वास्थ्य मापदण्ड अपनाउनेजस्तो व्यवहार नत्यागेसम्म महामारी नियन्त्रण सम्भव छैन । विश्व स्वास्थ्य संगठनले तेस्रो चरणको कोरोना फैलने चेतावनी दिइरहेको अवस्थामा व्यक्ति स्वयम् सचेत र जिम्मेवार नबन्दासम्म नियन्त्रण र रोकथाम चुनौतीपूर्ण हुने नै छ । त्यसैले निषेधाज्ञा हटे पनि कोरोना जोखिम यथावत छ ।