हेटौंडाः ज्यान मार्ने मुद्दामा ५ वर्ष कैद सजाय तोकिएको तर भुक्तान नगरी फरार रहेका हेटौंडाको मिथुन तितुङलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको २०७७ माघ २८ गतेको फैसलाले ज्यान मार्ने मुद्दामा ५ बर्ष कैद सजाय तितुङलाई तोकेको थियो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ बस्ने २७ बर्षीय मिथुन तितुङलाई प्रहरीले हेटौंडा–२ बाट आइतबार पक्राउ गरेको हो । तितुङलाई अदालतमा उपस्थिति गराएर बाँकी कैद भुक्तानको लागि भीमफेदी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिनुभयो ।
यस्तै जिल्ला अदालत मकवानपुरको फैसलाले सवारी ज्यान मुद्धामा ९ दिन कैद सजाय र दुई हजार रुपैयाँ जरिवाना नतिरी फरार रहेको हेटौंडा–९ को ४७ बर्षीय कमल पराजुलीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा उपस्थिति गराएको प्रहरी प्रवक्ता दासले बताउनुभयो ।