हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेमा वर्षाले नाली भन्दा मुनीको जमिनलाई बगाएपछि पुल ।

हेटौंडाः निरन्तर रुपमा भएको वर्षाले बाटो बगाएपछि बाटो छेउको नाली पुल जस्तै बनेको छ । हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेमा वर्षाले नाली भन्दा मुनीको जमिनलाई बगाएपछि झट्ट हेर्दा नाली पुल झै देखिएको छ ।

बस्तीको पानीलाई खोलासम्म पुर्‍याउनका लागि निर्माण हुँदै गरेको नालीको माथिल्लो भागमा जमेको पानीले नालीभन्दा मुनीको जमिनको भागलाई बगाएपछि बाटो मुनी भएका २ घर भने डुबानमा परेका छन् । हेटौंडा–१५ रातोमाटेका शर्मिला घले र बाबुराम पौडेलको घरमा पानी छिरेपछि घरमा सामान्य क्षति पुगेको स्थानीय चन्द्र बहादुर खत्रीले जानकारी दिनुभएको छ ।

नाली निर्माणको क्रममा प्राविधिकका रुपमा रहेका इन्जिनियर सुरेश दोङसँग कुरा गर्न जाँदा उल्टै हप्काएर पठाइएको स्थानीयले गुनासो गरेका छन् । हेटौंडा–१५ का वडा अध्यक्ष महारत्न लामाले भने इन्जिनियर दोङले कसैलाई पनि नहप्काएको बताउनुभएको छ । स्थानीय र इन्जिनियर दोङको कुराकानी हुँदा आफू पनि उपस्थित रहेको भन्दै वडा अध्यक्ष लामाले त्यस्तो विवादको कुनै कुरा नभएको बताउनुभयो । इन्जिनियर दोङले काम गर्दै जाँदा समस्याहरु आइपर्ने भएकाले त्यसलाई सुधार्दै जानुपर्ने भन्दै राम्ररी नै कुराकानी भएको उहाँको भनाइ रहेको थियो ।

हेटौंडा उपमहानगरपालिकाको बजेटमा निर्माण भइरहेको नाली बनिरहेको र काम सक्न बाँकी रहेकोले यस विषयमा विवाद गर्नु नपर्ने पनि उहाँले बताउनुभयो । साथै बिहान आफू स्वयम् बाढीले क्षति पुर्‍याएको स्थानमा निरीक्षण गर्न गएको र त्यस बेला कसैले पनि क्षति भएको विषयमा जानकारी नगराएको भन्दै वडा अध्यक्ष लामाले क्षति भएको भए वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।