हेटौंडाः अखिल नेपाल फुटबल संघ एन्फाले आगामी असोज ३ गतेबाट सहिद स्मारक ‘ए डिभिजन लिग’ फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । एन्फाको सो घोषणासँगै ए डिभिजन लिगका क्लबहरु लिगको तयारीमा जुटेका छन् । सोही अनुसार ए डिभिजन क्लबहरुले नयाँ खेलाडी अनुबन्ध तथा पुराना खेलाडीहरुलाई नविकरण गर्न सुरु गरेको छ ।
अबको ए डिभिजन लिग फुटबल प्रतियोगितामा मकवानपुरका स्टार मिडफिल्डर सुनिल बललाई साबिक लिग विजेता मछिन्द्र फुटबल क्लबबाट खेल पस्कदै गरेको देख्न पाइने भएको छ । मछिन्द्रले राष्ट्रिय फुटबल टिमका सदस्य समेत रहेका सुनिललाई नयाँ सिजनका लागि अनुबन्ध गरेको छ । साविक विजेता मछिन्द्रले पुराना खेलाडीलाई नविकरण गर्दै नयाँ खेलाडीमा सुनिललाई अनुबन्ध गरेको हो ।
गत सिजन ललितपुरको च्यासल युथ क्लबबाट खेलेका सुनिलले पहिलो पटक मछिन्द्रको जर्सी लगाउने छन् । च्यासल अघि सुनिलले तीन पटकको लिग च्याम्पियन ललितपुरकै थ्रीस्टार क्लबबाट खेलेका थिए । सुनिलले गत जेठमा सम्पन्न फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा विराटनगर सिटी एफसीबाट खेलेका थिए ।
मछिन्द्रले गत सिजन च्याम्पियन बनेका खेलाडीलाई नै नयाँ सिजनका लागि नविकरण गर्ने जनाएको छ । क्लबले गत सिजन मछिन्द्रबाट खेलेका गोलरक्षक विशाल श्रेष्ठ, मिडफिल्डरद्वय सुजल श्रेष्ठ, विशाल राई, डिफेण्डर रन्जित धिमाल, देबेन्द्र तामाङ, स्ट्राइकर रेजिन सुब्बा, अभिषेक रिजालसंग सम्झौता नविकरण गरिसकेको पनि जानकारी दिएको छ ।