नेकपा एमाले हेटौंडा उपमहानगर कमिटीको बैठकमा सहभागी नगर अध्यक्ष शालिकराम पुडासैनी (बायाँ), सचिव बोलबहादुर कार्की (बीचमा) र जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ ।

हेटौंडाः नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर नयाँ सदस्यता वितरण तथा पुराना सदस्य नवीकरणका लागि असार मसान्तसम्मको समय तोकेको छ । सदस्यता वितरण तथा नवीकरण गर्न राष्ट्रिय, प्रदेश र जिल्ला कमिटीको सर्कूलरपछि नेकपा एमालेको हेटौंडा उपमहानगर कमिटीको बैठक सोमबार बसेर वडा बैठक असार २० भित्र सक्न सर्कूलर समेत गरेको छ ।

नेकपा एमाले हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा सोमबार बसेको बैठकले वडा भेला गर्न, वडा कमिटीलाई पूर्णता दिन पार्टीको वडा तहलाई सर्कूलर गर्ने निर्णय भएको नेकपा एमाले हेटौंडा उपमहानगर कमिटीका सचिव बोलबहादुर कार्कीले जानकारी दिनुभएको छ । पार्टीको वडा कमिटीलाई वडा अधिवेशनको मिति तय गरी अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय पनि सोमबारको बैठकले गरेको सचिव कार्कीले बताउनुभयो ।

यस्तै जनसंगठनहरुको नगर, वडा, टोल कमिटी गठन तथा पुनर्गठन गर्न पनि निर्देशन दिएको छ । उपमहानगर कमिटीको बैठकले पार्टी पंक्तिलाई कोभिड–१९ विरुद्ध सचेतना तथा सहयोगका लागि परिचालन गर्ने निर्णय गरेको छ । नेकपा एमालेको पार्टी कार्यालयमा बसेको बैठकमा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, सचिव लालबहादुर थापाको पनि सहभागिता रहेको थियो ।