हेटौंडाः मकवानपुर प्रहरीले अबैध काठसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडा–१९ नेवारपानीस्थित पूर्वपश्चिम राजमार्गमा मनहरी तर्फबाट हेटौडा तर्फ आउँदै गरेको ट्रिपरसहित अबैध काठ र ३ जनालाई पक्राउ गरिएकाने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा गाडी चालक मनहरी गाउँपालिका वडा नं. ७ बिजौना बस्ने २५ वर्षीय बाबुलाल मोक्तान, उक्त ट्रिपरमा सवार सोही स्थानका २६ वर्षीय राजु प्रजा र २६ वर्षकै निशान प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले शनिबार राती साढे ९ बजेको समयमा मनहरी तर्फबाट हेटौडा तर्फ आउँदै गरेको ना ४ ख ५५०१ नं. को ट्रिपर गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको अबैध सालको काठ ५१.६० क्युफिट फेला परेको उहाँले बताउनुभयो ।
पक्राउ परेका ३ जनालाई उक्त काठ, ट्रिपरसहित आवश्यडक कारवाहीको लागी डिभिजन वन कार्यालय राप्ती मनहरी पठाईएको प्रहरीले जनाएको छ ।