हेटौंडाः अन्तर्राष्ट्रिय लागुऔषधरहित दिवसको अवसरमा अपाङ्गता भएका युवालाई एक थान व्हीलचियर हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ सिमरा युथ र नयाँ गोरेटो पुर्नस्थापना केन्द्रले संयुक्त रुपमा जीतपुरसिमरा–१ का ३० वर्षीय दिलिप बाँस्कोटालाई व्हिलचियर र फलफूल प्रदान गरिएको हो ।

पुर्नस्थापना केन्द्रमा उपचार लिएपछि लागुऔषधको प्रयोग छाडेका उनले सवारी दुर्घटनामा खुट्टा गुमाएका थिए । काठमाडौंको कोटेश्वरमा भएको सवारी दुर्घटनापछि उपचारका क्रममा उनको खुट्टा काटिएको थियो । बाँस्कोटालाई मनोबल उच्च राख्दै जिवनयापनको सहजताका लागि व्हिलचियर र फलफूल सहयोग गरिएको नयाँ गोरेटोका अध्यक्ष राजकुमार लामाले बताउनुभयो । दुई संस्थाका प्रतिनिधिले घरमै पुगेर व्हीलचियर सहयोग गरेपछि बाँस्कोटा खुशी भएका थिए ।

व्हीलचियरका लागि लायन्स क्लब अफ सिमरा युथका अध्यक्ष हङ्कल्पित न्यौपाने, नयाँ गोरेटोका अध्यक्ष राजकुमार लामा, लायन्स क्लबका प्रथम उपाध्यक्ष दिवाकर भण्डारी, सदस्य सरोज खनाल, निलिशा बर्मा, सपना ढकाल, सुशान्त साह, सिमराकी लक्की श्रेष्ठ, लीला लोप्चन, चन्द्रपुरका देवेन्द्र अर्याल लगायतले आर्थिक सहयोग गरेका थिए । व्हीलचियर वितरण गर्न नेपाल अपाङ्ग सेवा संघ बाराले सहजिकरण गरेको थियो ।