कार्यक्रममा मायाको चिनो प्रदान गरिँदै ।

हेटौंडाः सिआन पुनस्र्थापना केन्द्रको आयोजनामा लागूऔषध दुव्र्यसनसम्बन्धी छलफल कार्यक्रम आयोजना भएको छ । २६ औं अन्तर्राष्ट्रिय लागूऔषध दुव्र्यसन तथा ओसारपसारविरुद्धको दिवसको अवसरमा भएको छलफल कार्यक्रममा ३ चरणमा १७ जना व्यक्तित्वहरुसँग कुराकानी गरिएको छ ।

छलफल कार्यक्रममा उपस्थित अतिथिहरुले नियम बनाउन गएकाहरुले लागूऔषधको विषयमा जथाभावी बोल्दै हिँडेको भन्दै आपत्ति जनाएका छन् । देशको नीति नियम बनाउन सरकारमा गएकाहरुले नै विभिन्न स्थानमा गएर लागूऔषधको विषयमा जथाभावी प्रचार गरेका कारण लागूऔषध दुव्र्यसन बढ्दै जाने खतरा भएको कार्यक्रममा उपस्थित अधिकांशको भनाई रहेको थियो ।

देशमा नीति, कानुन निर्माण गर्नुपूर्व नै केही सांसदहरुले लागूऔषध गाँजाको विषयमा अनावश्यक प्रचारप्रसार गर्नाले मकवानपुर जिल्लामा पछिल्लो समय गाँजा खेती मौलाउँदै भएको जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलालले बताउनुभयो । देशमा गाँजा अवैधानिक भएकै अवस्थामा केही माननीय व्यक्तिहरुले गाँजा खेती गरेर धेरै पैसा कमाउने लोभ र भ्रम फैलाएकै कारण जिल्लाका विकट क्षेत्र राक्सिराङ, कैलाश गाउँपालिकालगायतका स्थानीयहरु गाँजा खेतीमा लागेको उहाँको भनाई रहेको थियो ।

मकवानपुरमै पहिलो र लामो समयदेखि लागूऔषध दुव्र्यसनको विरुद्धमा काम गर्दै आएको मकवानपुर रिकभरिङ समूहका अध्यक्ष सन्दिप शाक्यले देशमा गाँजा लगायतका लागूऔषधलाई वैधानिक गर्नुपर्छ भन्ने व्यक्तिहरुलाई एकपटक पुनस्र्थापना केन्द्रमा आएर भ्रमण गर्न अनुरोध गर्नुभएको छ । लागूऔषध दुव्र्यसनका कारण पुनस्र्थापना केन्द्रमा रहेका व्यक्तिहरुको अवस्था हेरेरमात्र सुझाव प्रदान गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । लागूऔषधकै कारण युवाहरु विभिन्न अपराधतर्फ उन्मुख हुने र समाजबाट बहिस्कार हुनुपरेको अवस्थामा गाँजालाई वैधानिकता प्रदान गर्नु एकदमै गलत हुने उहाँले बताउनुभयो ।

युवाहरुलाई लागूऔषध दुव्र्यसनीबाट टाढा राख्न र दुव्र्यसनीमा फसेकालाई सुधार गर्न विभिन्न पुनस्र्थापना केन्द्रहरुले प्रशंसायोग्य भूमिका रहेको हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले खुशी व्यक्त गर्नुभयो । तर केही व्यक्तिले पुनस्र्थापना केन्द्रको आडमा गैरकानुनी कामहरु गर्दै गएकाले कुनै एक संस्थाको कारण सम्पूर्ण पुनस्र्थापना केन्द्रको बदनाम भइरहेको भन्दै वडा अध्यक्ष भण्डारीले त्यस्ता संस्थाहरुलाई आवश्यक कारवाही गर्नका सम्बन्धित प्रशासनलाई आग्रह गर्नुभएको छ । वडामै रहेको एक पुनस्र्थापना केन्द्रले लागूऔषध ओसारपसार तथा सुधारका लागि राखिएका मानिस नै मार्ने जस्ता गैरकानुनी काम गरेको भन्दै आफूसँग प्रमाण नै रहेको जानकारी दिनुभयो । यस्ता संस्थालाई अन्य संस्थाले पनि खबरदारीका साथै अनुगमन गर्नुपर्ने उहाँले बताउनुभयो ।

लागूऔषध ओसारपसार गर्ने तथा बेचबिखन गर्ने काम अपराध भएको भन्दै अधिवक्ता मदन कुमार दाहालले यस्ता व्यक्तिलाई कसैले पनि संरक्षण प्रदान नगरी कानुनी सजाय तथा सामाजिक बहिस्कार गर्नुपर्ने भनाई व्यक्त गर्नुभयो । अझैपनि लागूऔषध नियन्त्रण ऐन २०३३, अनुसार नै कानुनी कारवाही हुने भएकाले सो विषयमा भने कानुनी परिमार्जन हुनुपर्ने उहाँले बताउनुभयो । कानुनअनुसार लागूऔषध प्रयोगकर्ता पनि पक्राउ परेको अवस्थामा थुनामा नै राखेर अनुसन्धान गरिने भन्दै अधिवक्ता दाहालले लागूऔषध प्रयोग एक प्रकारको रोग भएकाले उक्त व्यक्तिलाई सुधार केन्द्रमा राखेर उपचारका साथ अनुसन्धान गर्नुपर्ने नियम आवश्यक रहेको पनि बताउनुभयो ।

लागूऔषध नियन्त्रणका लागि स्थानीय तह तथा सम्बन्धित संघसंस्थाको सहयोगमा विभिन्न कार्यहरु भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो । पहिल्लो समय प्रहरीको सक्रियतामा अत्याधिक मात्रामा लागूऔषध तथा त्यसको ओसारपसारमा संलग्न व्यक्ति पक्राउ परेको उहाँले बताउनुभयो । हाल पक्राउ परी जिल्ला प्रहरी कार्यालयमा रहेका ४८ जनामध्ये ३५ जना लागूऔषध मुद्धामा पक्राउ परेको पनि एसपी राठोरले जनाउनुभयो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारीहरु, स्वास्थ्यकर्मी, समाजसेवी, अग्रज सुधारकर्मी, लागूऔषध प्रयोगकर्ताका अभिभावकसँग छलफल तथा अन्तरक्रिया गरिएको थियो । गृह मन्त्रालयका अनुसार लागूऔषध दुव्र्यसन अपराध भएको तर स्वास्थ्य मन्त्रालयले यसलाई एकप्रकारको रोग भनेका कारण प्रयोगकर्तालाई जेल हाल्ने कि सुधार गृहमा राख्ने भन्ने विषयमा नै अन्योलता हुने गरेको सहभागीहरुले बताएका छन् । लागूऔषध ओसारपसार गर्नेलाई संरक्षण तथा प्रयोगकर्तालाई भने समाजबाट नै बहिस्कार गर्ने घटनाहरु देखिएकाले झनै दुव्र्यसनका घटनाहरु बढ्दै गएको कुरा पनि छलफलका क्रममा आएको थियो ।

हरेक वर्षको जुन २६ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय लागूऔषध दुव्र्यसन तथा ओसारपसारविरुद्धको दिवसको शनिबारको कार्यक्रममा राष्ट्रिय युवा परिषद् बागमती प्रदेशका नवनियुक्त कार्यकारिणी उपाध्यक्ष सन्तोष चौलागाईंलाई सम्मानसहित स्वागत गरिएको थियो भने प्रत्यक्षरुपमा लागूऔषध दुव्र्यसनका विरुद्धमा काम गर्ने विभिन्न संघसंस्थाहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।