निषेधाज्ञाका बेला सञ्चालन भएका अटो एम्बुलेन्स सँगै चालकहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडामा सञ्चालन गरिएका अटो एम्बुलेन्स विस्थापित हुँदै गएका छन् । निषेधाज्ञाको समयमा बिरामीहरुले सहजरुपमा एम्बुलेन्स सेवा नपाउने अवस्था भएपछि सञ्चालनमा ल्याइएको अटो एम्बुलेन्स निषेधाज्ञा खुकुलो हुँदै जाँदा विस्थापित हुँदै गएका हुन् ।

दोस्रो चरणको कोरोना भाइरस संक्रमण बढेसँगै समयमा एम्बुलेन्स नपाउँदा स्थानीयलाई सहज सेवा दिने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाको समन्वयमा हरेक वडामा दुई–दुई वटा अटो एम्बुलेन्स सञ्चालन गरिएको थियो । विशेषगरी कोरोना संक्रमित बिरामी बोक्नका निम्ति तथा आपतकालीन सेवा दिन अटो एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।

हेटौंडा उपमहानगरपालिकाको १९ वडामा ३६ वटा अटो एम्बुलेन्स सञ्चालनमा रहेको थियो । कतिपय मानिस निषेधाज्ञा खुकुलो भएसँगै जोरबिजोर सवारी साधन सञ्चालनमा आउँदा अटो एम्बुलेन्सहरु विस्थापित भएका हुन् । अहिले एम्बुलेन्सको रुपमा सञ्चालन भएका सबैजसो अटोहरु सामान्य यात्रु बोक्न प्रयोग हुन थालेपछि अटो एम्बुलेन्स पाउने स्थिति छैन । जसले गर्दा बिरामीहरु मर्कामा पर्ने स्थिति बनेको छ ।

कोरोना भाइरस संक्रमण कम हुँदै गएको र निषेधाज्ञा पनि खुकुलो हुँदै गएपछि अहिले सबै अटो एम्बुलेन्स सञ्चालनमा छैनन् । कोरोना भाइरस संक्रमनका बेला बिरामी बोकेर मनावीय धर्म निर्वाह गरिएको भए पनि अहिले निषेधाज्ञा खुकुलो भएसँगै जोर बिजोर प्रणालीमा अटोहरु सञ्चालनमा आएपछि अटो एम्बुलेन्सको महत्व कम हुँदै गएको हेटौंडा १५ का अटो एम्बुलेन्स चालक विवेककुमार चाम्लिङले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का अटो एम्बुलेन्स चालक मोहन श्रेष्ठले महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गर्दा पनि अनावश्यक आरोप लाग्दा दुःखी हुनुपरेको भन्दै आरोपको छानविनका लागि ध्यानाकर्षण गराउनुभएको थियो । रात्रिकालीन समयमा समेत आपतमा परेका यात्रुहरुलाई सेवा दिँदा पनि उचित मूल्यांकन हुन नसकेको श्रेष्ठले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले अटो चालकहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै अटोले बिरामीसँग एक हजार २ सय रुपैयाँ सम्म भाडा लिएको गुनासो आएको बताउनुभएको थियो । महामारीको बेला अटो एम्बुलेन्स चालकलगायत अन्य चालकहरुलाई ठगीको आरोप लाग्ने गरेकाले मानवीय धर्म निर्वाह गरी सेवा गर्न मेयर महतले आग्रह गर्नुभएको थियो । कतिपय अटो एम्बुलेन्सहरुले बिरामीबाहेक अन्य यात्रु तथा सामान बोकेको भन्दै अटो एम्बुलेन्सको प्रभावकारितामा प्रश्न उठ्ने गरेको थियो ।