हेटौंडाः मकवानपुरमा ४० जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले ४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।

मंगलबार संकलन गरिएको ७९ जनाको स्वाब र सोमबार संकलित ७ जनाको स्वाब गरी ८६ जनाको स्वाब परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरका २८ जना, मनहरी गाउँपालिकाका ६ जना, मकवानपुरगढी गाउँपालिकाका ३ जना, बकैया गाउँपालिकाका २ जना र बारा जिल्लाको निजगढका १ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी बुधबार ५४ जनाको स्वाब संकलन गरिएको छ । कोरोना भाइरस संक्रमण भए नभएको परीक्षण गर्न हेटौंडा–१० स्थित स्वाब संकलन केन्द्रमा बिहान ६ बजेदेखि ८ बजेको समयमा स्वाब संकलन गरिँदै आएको छ ।