हेटौंडाः फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपालले आज सोमबार हुने खेलमा जोर्डन्को सामना गर्दैछ । खेल नेपाली समयानुसार रातको ९ः४५ बजे हुनेछ ।

नयाँ प्रशिक्षक अब्दुल्ला अलमुताइरीको रणनीतिलाई धेरैले तारिफ गरेका छन् । खासमा अलमुताइरीको रणनीतिको परिक्षा पनि आज जोर्डनसँगको खेलबाटै हुनेछ । नेपाल र जोर्डनबीच अब हुने खेल चौथो हो । यसअघिका ३ खेलमा नेपालले जोर्डनलाई हराउन सकेको छैन । एक पटक बराबरी रोक्नु नेपाली टोलीको जोर्डनविरुद्धको अहिले सम्मको सबैभन्दा सफल नतिजा हो ।

दश वर्षअघि जोर्डनसँग उसकै भूमिमा पहिलो लेगमा ९–० ले गुमाएको नेपालले दोस्रो लेगमा १–१ को बराबरी गरेको थियो । घरेलु मैदानमा नेपाली टोली जोर्डनलाई रोक्न सफल भएको थियो । त्यति बेला बेलायती प्रशिक्षक ग्राहम रोबर्टसको नेतृत्वमा नेपाली टोली विश्व कप छनोटमा उत्रेको थियो । तर, त्यो एक दशक अघिको प्रसंग हो । त्यसयता नेपाली टोलीमा व्यापक परिवर्तन भएको छ ।

त्यति बेला टोलीमा रहेका गोलकिपर किरण चेम्जोङ बाहेक अहिले टोलीमा अर्को कुनै खेलाडी छैनन् । रंगशालामा भएको दोस्रो लेगमा भरत खवासले बराबरी गोल गर्दै नेपाललाई अंक दिलाएका थिए । चोट कारण भरतसहित त्यति बेला टोलीमा रहेका सुजल श्रेष्ठ चोटका कारण यसपटक टोलीमा समावेश छैनन् ।
पहिलो लेगमा ९–० ले पराजित भएपछि नेपाली टोलीको चर्को आलोचना भएको थियो । तर, त्यसको पाँच दिन पछि स्वदेशमा जोर्डनलाई बराबरीमा रोक्दा फेरि टोलीका उच्च प्रशंसा भएको थियो ।

यसपटकको विश्व कप छनोटमा पहिलो लेगमा नेपाल जोर्डनसँग उसकै मैदानमा ३–० को हार बेहोरेको थियो । अब यस पटकको दोस्रो लेगमा कस्तो नतिजा निस्कन्छ समर्थकका लागि चासोको विषय हुनेछ ।