हेटौंडाः मकवानपुर कुखुरा व्यवसायी संघले हेटौंडा अस्पतालमा उपचाररत कोभिड–१९ संक्रमित र उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कुखुराको अण्डा सहयोग गरेको छ । उपचाररत कोभिड–१९ संक्रमित र स्वास्थ्यकर्मीको मनोवल बढाउनुका साथै आवश्यक पोषणका लागि पनि अण्डा सहयोग गरिएको संघले जनाएको छ ।

आइतबार बिहान हेटौंडा अस्पतालमा कुखुरा व्यवसायी संघका पदाधिकारीले हेटौंडा अस्पतालका पदाधिकारीलाई अण्डा हस्तान्तरण गरेको छ । एक महिनासम्म आवश्यक अण्डा क्रमशः उपलब्ध गराइने मकवानपुर कुखुरा व्यवसायी संघका निवर्तमान अध्यक्ष राजु अधिकारीले जानकारी दिनुभएको छ । मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष गोकुलनाथ पौडेल, निवर्तमान अध्यक्ष राजु अधिकारीले हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाई, सदस्य हीरा लामा र हेटौंडा अस्पतालका निमित्त मेसु डा. रामचन्द्र सापकोटाको उपस्थितिमा अण्डा हस्तान्तरण गर्नुभएको छ ।

यसअघि मकवानपुर कुखुरा व्यवसायी संघले हेटौंडा–६, गौरिटारमा हेटौंडा अस्पतालले नै सञ्चालन गरेको आइसोलेसन वार्डमा उपचाररत कोभिड–१९ संक्रमित र उनीहरुको उपचारमा खटिएका कर्मचारी, स्वास्थ्यकर्मीका लागि साताको दुईदिन कुखुराको मासु र दैनिक प्रतिव्यक्ति २ वटा अण्डाका दरले एकमहिनासम्म सहयोग गरेको छ । गौरिटार आइसोलेसनमा शनिबार सहयोग हस्तान्तरण गरिएको हो । संघले मकवानपुरको थाहा नगरपालिका र मनहरी गाउँपालिकामा सञ्चालित आइसोेलेसन वार्डमा पनि मासु र अण्डा सहयोग गर्ने अध्यक्ष गोकुलनाथ पौडेलले बताउनुभएको छ ।