प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठ

हेटौंडाः कोभिडको कारण भर्चुअल माध्यमबाटै राष्ट्रिय सभाको मतगणना सार्वजनिक गरिने भएको छ । बुधबार मतदानस्थल भुटनदेवि मावि परिसरमा राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दै प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठले गणना भएको मत भर्चुअल माध्यमबाट सार्वजनिक गरिने बताउनुभयो ।

उहाँले बिहीबार हुने निर्वाचनमा ३ जना मतदान अधिकृत तोकिएको बताउनुभयो । मतदान अधिकृतहरु माधव प्रसाद दाहाल, गोविन्द पौडेल र कैलाश भट्टराई रहनुभएको छ । उनीहरुले मतदानस्थलमा फोटो खिच्ने गरेको पाइएमा वा सामाजिक दुरी कायम नगरेमा हस्तक्षेप गर्न पाउँनेछन् । यस्तै पीसीआर रिपोर्ट पोजेटिभ नभएको रिपोर्ट सुरक्षाकर्मीले मागेर मतदाताले भोट हाल्न बन्चित हुननहुने भन्दै ३ जना मतदान अधिकृतले विशेष ध्यान दिनुपर्ने बताइएको छ ।

कोभिड संक्रमित मतदाताले भुटनदेवि माविको उत्तर गेटबाट मात्रै प्रवेश पाउँनेछन् भने अन्यले पश्चिम गेटबाट प्रवेश पाउँनेछन् । उनीहरुको सामान्य स्वास्थ्य जाँचपछि होल्डिङ सेन्टरमा बस्ने छन् भने १० मिटरको दुरी कायम गर्ने व्यवस्था गरेको प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।