हेटौंडाः मकवानपुर जिल्लामा पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । होम आइसोलेसनमा रहेका ८७ जना र अस्पतालको आइसोलेसनमा रहेका ९ जना गरी जिल्लाका ९६ जनाले कोरोना जितेको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

कोरोना जित्नेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका ८८ जना रहेका छन् । यस्तै मकवानपुरगढीका ३ जना, भीमफेदीका २ जना तथा मनहरी, बागमती र राक्सिराङ गाउँपालिकाका १÷१ जना रहेका छन् । योसँगै मकवानपुरमा कोरोना भाइरसलाई पराजित गर्नेको संख्या ४ हजार ४ सय ५९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा मकवानपुर जिल्लामा थप १ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय २६ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप १ सय ७२ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

कोरोना पुष्टि हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका १ सय ५२ जना रहेका छन् । यसैगरि मनहरीका १० जना, भीमफेदीका ५ जना, थाहा नगरपालिका र बागमती गाउँपालिकाका २÷२ जना तथा राक्सिराङ गाउँपालिकाका १ जना रहेका छन् । मकवानपुरमा हालसम्म ६ हजार ७ सय १९ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा जिल्लामा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुबै जना हेटौंडा उपमहानगरपलिकाका रहेका छन् । हेटौंडा ५ का ६५ वर्षीय पुरुष र हेटौंडा ४ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मकवानपुरमा हालसम्म कोरोना भइरसको संक्रमणबाट ६३ जनाको ज्यान गएको छ ।

यस्तै जिल्लामा हालसम्म सक्रिय संक्रमित २ हजार २ सय २ जना रहेका छन् । जसमा २ हजार ९१ जना घरमा र १ सय ११ जना जिल्लाको विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् । जसमा हेटौंडा अस्पतालको आइसोलेसनमा ५१ जना, गौरीटार आइसोलेसनमा ३० जना, सहकारी अस्पतालमा ४ जना र चुरेहिल अस्पतालमा ३ जना उपचाररत् रहेका छन् ।

यसैगरि भीमफेदी र बागमती गाउँपालिकाको आइसोलेसनमा ८÷८ जना, मनहरी गाउँपालिकाको आइसोलेसनमा ५ जना तथा राक्सिराङ र कैलाश गाउँपालिकाको आइसोलेसनमा १÷१ संक्रमित उपचाररत रहेका कार्यालयले जनाएको छ ।