विद्युत चोरी गरी सञ्चालन गरिएको काठ काट्ने मेसिनको मोटर निकाल्दै प्राधिकरणका अधिकारीहरु ।

हेटौंडाः विद्युत चोरी गरी चलाइएका उपकरण नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले नियन्त्रणमा लिएको छ । सोमबार मकवानपुरको मनहरी गाउँपालिका–३ को भुन्द्रङटाँडी, लामिटार क्षेत्रमा हुकिङ (विद्युत चोरी) गरी चलाइएका पानी तान्ने मोटर, काठ चिर्ने मोटर नियन्त्रणमा लिएको हेटौंडा वितरण केन्द्रले जनाएको छ ।

विद्युत चोरी गरी सञ्चालन गरिएको पानी तान्ने मोटर नियन्त्रणमा लिँदै प्राधिकरणका अधिकारीहरु ।

विद्युत चोरी गरी उपयोग गरिरहेको भन्ने स्थानीय कै खबरका आधारमा हेटौंडा वितरण केन्द्रका सहायक इन्जिनियर विश्वनाथ ढकालको नेतृत्वमा चोरी नियन्त्रणका लागि सोमबार मनहरी–३ मा पुगेको हो । ढकाल नेतृत्वको टोलीले ५ वटा घरको हुकिङ निकाल्नुका साथै २ वटा पानी तान्ने मोटर र एउटा काठ चिर्ने मेसिनको मोटर नियन्त्रणमा लिएको नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका सहायक लेखापाल हरि खड्काले जानकारी दिनुभएको छ ।

हुकिङ निकाल्दै प्राधिकरणका कर्मचारी ।

विद्युत चुहावट नियन्त्रण गर्न हेटौंडा वितरण केन्द्रमा एउटा गाडीकै व्यवस्था गरेको छ । विद्युत चुहावट नियन्त्रणका साथै सचेतनामूलक कार्य समेत गर्दै आएको हेटौंडा वितरण केन्द्रका अधिकारीको भनाइ छ । चोरी गरी विद्युत उपयोग गर्ने उपभोक्तालाई तीन हजार चार सय रुपैयाँ जरिवाना गर्नुका साथै साविकमा मासिक औषत मूल्यका आधारमा हुकिङ गरी उपयोग गरिएको अवधिको महसुल असुलउपर गरिने व्यवस्था छ । विद्युत चोरी नियन्त्रण गर्न खटिएका अधिकारीले सहजै मिटर लिन सकिने व्यवस्थाबारे जानकारी समेत गराएको जनाएका छन् ।