हेटौंडाः नेपाली राष्ट्रिय फुटबल टोलीको आइतबार घोषणा गरिएको टोलीमा मकवानपुरका अन्जन विष्ट र सुनिल बलसहित ३२ जनाको नाम घोषणा गरिएको छ । राष्ट्रिय टिमका लागि अन्जन र सुनिल नयाँ अनुहार भने पक्कै होइनन् ।
राष्ट्रिय टिमको फरवार्ड र मिडफिल्डरमा अन्जन र सुनिलको उत्कृष्ट खेलका कारण महत्वपुर्ण भुमिका रहने गरेको छ । जसकारण पनि अन्जन र सुनिलले राष्ट्रिय टिममा आफ्नो स्थान सुरक्षित बनाएका छन् । शनिबार मात्र नेपाल सुपर लिग उपाधि जितेको काठमाडौं रेजर्सका मार्की खेलाडी तथा कप्तान बिकेश कुथु सहित क्लबका कुनैपनि खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउन नसकेको अवस्थामा अन्जन र सुनिल भने टिममा पर्नु सबै मकवानपुरे फुटबल प्रेमीको लागि खुसीको कुरा हो ।
नेपाल सुपर लिगमा अन्जन ललितपुर सिटी फुटबल क्लबका मार्की खेलाडी तथा कप्तानको रुपमा रहेका थिए भने सुनिललाई बिराटनगर सिटी फुटबल क्लबले अक्सन मार्फत सर्वाधिक मूल्यमा खरिद गरेको थियो । नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा रहने गरी ३२ खेलाडीको नाम सार्वजनिक गर्दा यस अघि किरण कुमार लिम्बुपछि गोलपोस्ट सम्हाल्ने गरेका बिकेश कुथुसमेत टिममा नपर्दा अधिकांश नेपाली फुटबल प्रेमी अचम्ममा परेका छन् ।
यसअघि थ्री नेसन्स कपका दौरानका राष्ट्रिय टोलीमा रहेका ७ जना खेलाडीहरु प्रशिक्षक अलमुताइरीले नयाँ अनुहारलाई प्राथमिकता दिँदै घोषणा गरेको टोलीमा परेनन् । जसमा गोलरक्षक विकेश कुथुसँगै तेज तामाङ, संजोक राई, छिरिङ गुरुङ र त्रिदेव गुरुङ, सुजल श्रेष्ठ र अजित भण्डारी रहेका छन् । प्रशिक्षक अलमुताइरीले नयाँ अनुहारलाई प्राथमिकता दिने भनिरहेको अवस्थामा पनि अन्जन र सुनिलले भने आफ्नो खेलमार्फत उनको मन जित्न सफल भएका छन् ।
नवयुग श्रेष्ठ र सन्तोष तामाङले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा पाँच नयाँ खेलाडी पहिलो पटक बन्द प्रशिक्षणमा समेटिएका छन् । कमल थापा, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगीले पहिलो पटक बन्द प्रशिक्षणमा स्थान बनाएका हुन् । यो टोली साफ च्याम्पियनसिपको तयारीलाई ध्यानमा राख्दै घोषणा गरिएको प्रशिक्षक अलमुताइरीले बताएका छन् । को खेलाडी पर्यो भनेर हेर्नभन्दा टोली कति राम्रो बन्यो भन्नेमा ध्यान दिन जरुरी रहेको अलमुताइरीको भनाई रहेको छ ।
राष्ट्रिय टोलीले मे २९ मा इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । त्यसपछि जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न नेपाल कुवेत प्रस्थान गर्नेछ । नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।
नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०–१० अंक छ । नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।
राष्ट्रिय टोलीको ३२ सदस्यीय टिमको बन्द प्रशिक्षणको क्रममा गोलरक्षकका रुपमा किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार रहेका छन् भने डिफेन्डरमा अनन्त तामाङ, रजिन धिमाल, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, निशान खड्का, अमित तामाङ, सुमन अर्याल, विकास खवास रहेका छन् ।
यसैगरी मिडफिल्डरमा सुनिल बलसहित एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, नितिन थापा, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुमन लामा, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान, विवेक बस्नेत, रवी पासवान रहेका छन् । टोलीको फरवार्ड सम्हाल्ने जिम्मेवारी अन्जन विष्टसहित अभिषेक रिजाल, भरत खवास, दर्शन गुरुङ, नवयुग श्रेष्ठ, आशिष लामाले प्राप्त गरेका छन् ।