हेटौंडाः रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इद उल फित्र (ईद) मनाउँदैछन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ ।
ईद पर्वमा अल्लाह (भगवान) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । इस्लाम धर्मावलम्बीले मस्जिद तथा इदगाहमा भेला भएर सामूहिक रुपमा प्रार्थना गर्ने गर्थे । आपसमा अंगालो मारेर इदको शुभकामना आदान प्रदान गर्ने गर्थे ।
तर गत वर्ष झैं यस वर्ष पनि कोरोना भाइरसको संक्रमण फैलिएकोले गर्दा भएको निषेधाज्ञाका कारण मस्जिदमा सामूहिक भेला हुन रोक लगाइएको छ । त्यसैले इद उल फित्रका दिन पनि हेटौंडामा रहेको मस्जिद सुनसान देखिए ।
हेटौंडाका मुस्लिम समुदायका व्यक्तिहरुले आ–आफ्नो घरमा नै बसेर ईद मनाएका छन् । उनीहरुले घरका सदस्यहरुसँग तथा फोन तथा सामाजिक सञ्जालमार्फत आफन्तहरुसँग शुभकामना साटासाट गरेर ईद मनाएका छन् ।