हेटौंडा अस्पतालमा बहिरङ्ग (ओपीडी) सेवा लिने बिरामी । फाइल तस्वीर ।

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालले बहिरङ्ग (ओपीडी) सेवा बन्द गरेको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको आइतबार सम्पन्न बैठकले अस्पतालका आईसीयु, एचडीयु र जनरल वार्डलाई कोभिड सेवामा परिवर्तन गर्दै अस्पतालका अन्य ओपीडी सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंको अध्यक्षतामा बसेको बैठकले अस्पतालको इमर्जेन्सी सेवा, प्रसुती सेवा र ज्वरो क्लिनिकको सेवालाई भने यथावत सञ्चालन गर्ने निर्णय गरिएको छ । कोभिड–१९ को संक्रमण तीब्ररुपमा फैलिइरहेको हुँदा हाल सञ्चालित २० बेडको सेवाले बिरामीको चापलाई धान्न नसक्ने भएकाले कोभिड–१९ को उपचारलाई प्रभावकारी बनाउन ओपी सेवा बन्द गरिएको हो । बैठकले कोभिड–१९ को उपचारका लागि आवश्यक जनशक्तिको व्यवस्था मिलाउने जिम्मा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा नर्सिङ प्रमुखलाई दिएको छ ।

अस्पतालमा गरिने पीसीआर परीक्षणको रिपाटै अनलाइन तथा एसएएसद्वारा दिने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ । कोभिड–१९ परीक्षणका लागि स्वाब दिई रिपार्ट आउन बाँकी रहेको लक्षण भएका बिरामीहरुलाई अस्पताल परिसरभित्र नै ‘कोभिड सस्पेक्ट वार्ड’मा राखी अन्तरिम उपचार सेवा दिने निर्णय गरिएको छ ।

मकवानपुरलगायत छिमेकी जिल्लाहरुमा नयाँ भेरियन्टको कोभिड–१९ संक्रमण तीब्ररुपमा फैलिइरहेको हुँदा संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको आदेशलाई पालना गर्ने बैठकले निर्णय गरेको छ । सोमबारबाट निषेधाज्ञा लगाइएका कारण सार्वजनिक यातायात सञ्चालन नहुने भएकाले अस्पतालमा कार्यरत कर्मचारीलाई आवतजावतका लागि अस्पतालले यातायात सेवाको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।