अहिले कोरोना संक्रमणको दोस्रो लहर देशभर फैलिइरहेको छ । मकवानपुर जिल्लामा पनि कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । कोरोना संक्रमण न्यूनीकरणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले विभिन्न निर्णय गरेर आदेशहरु जारी गरेको छ । यस्ता आदेश कार्यान्वयनमा नेपाल प्रहरीको जिम्मेवारी महत्वपूर्ण हुन्छ । कोरोना संक्रमण फैलिन नदिन मकवानपुरको प्रहरीले गरिरहेका गतिविधिका बारेमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक अविनाश अधिकारीसँग समृद्ध समाजका संगी लामाले गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः कोरोना नियन्त्रण तथा रोकथाम गर्न सरकारले गरेका निर्णयहरु पालना गराउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले के–कस्ता प्रयासहरु गरिरहेको छ ?
अधिकारीः हामीले जनचेतनामूलक कार्यक्रमहरु गर्यौं । २/४ दिन अगाडि उद्योग वाणिज्य संघसहितको सहभागितामा मास्क बाँड्यौं । अहिले मास्क नलगाउनेहरुलाई चोकचोकमा बसेर जरिवाना तिर्न लगाउने गराइएको छ । हामीले गरेको अनुगमनको क्रममा सबैले मास्क लगाएर हिँड्नुभएको पाएका छौं ।
समाजः मकवानपुरमा जोरबिजोर कार्यान्वयन गराइरहनु हुँदा कोरोना नियन्त्रणमा यो कत्तिको प्रभावकारी देखिएको छ ?
अधिकारीः कोरोना भनेको भिडभाडमा सर्ने भएको भएर जोरबिजोरले गर्दा मान्छेहरु बजारमा कम आउनुहुन्छ । त्यसकारण मान्छेहरु कम हुनु नै प्रभावकारी देखिएको छ ।
समाजः जोरबिजोर प्रणाली लागू भइरहँदा विशेषगरी सार्वजनिक सवारीहरुमा मान्छेहरुको भिडभाड अलि बढी भएको हो कि जस्तो लाग्दैन ?
अधिकारीः सार्वजनिक सवारीमा सबैले मास्क लगाउनुभएको छ । त्यस्तै सिट क्षमता जति त राख्नै पर्यो । सिट क्षमताभन्दा बढी नराख्न ट्राफिक प्रहरी कार्यालयबाट समेत अनुमगन गरेर कार्यान्वयन भइरहेको छ । जति पनि सार्वजनिक सवारीमा चढ्नुभएको छ, उहाँहरुले मास्क प्रयोग गर्नुभएकै छ ।
समाजः प्रहरीले निःशुल्क मास्क वितरण गरिरहेको छ भने मास्क नलगाउनेलाई कारवाही पनि गरिरहेको छ, यसबाट नागरिकहरुलाई कस्तो सन्देश दिन खोज्नुभएको हो ?
अधिकारीः केही दिनअगाडि विभिन्न संघसंस्था मिलेर मास्क वितरण गरिएको हो । मास्कमात्र वितरण गर्दा मान्छेहरुले मास्क लगाउन मान्नु भएन । यसकारण जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार कारवाही अगाडि बढाएका छौं । जसले गर्दा मान्छेहरुले मास्क लगाइरहनु भएको छ ।
समाजः गतवर्ष मकवानपुरमा धेरै प्रहरीहरु संक्रमित हुनुभयो । यो वर्षपनि यस्तै अवस्था आयो भने कसरी व्यवस्थापन गर्ने योजना बनाउनुभएको छ ?
अधिकारीः हालसम्म हाम्रो प्रहरीमा त्यस्तो केही समस्या देखिएको छैन । यदि प्रहरीहरुलाई संक्रमण देखिएमा हामीले आफ्नै आइसोलेसन बबनाएका छौं । जो बिरामी हुन्छन्, आइसोलेसनमा राख्ने गरेका छौं ।
समाजः मकवानपुरको नाकाहरुमा कत्तिको कडाई गर्नुभएको छ ?
अधिकारीः मकवानपुरमा रातोमाटे, कर्रा पुल, क्याम्पाडाँडा, चौकीटोल, थानाभर्याङ, मनहरी, भैंसेका प्रहरी युनिटहरुले आफ्नोआफ्नो कार्यालय वरिपरि जाँच गर्ने, मास्क नलगाउनेलाई लगाउन भन्ने, नमान्नेलाई कारवाही गर्ने गरेर नै कडाई गरिरहेका छौं ।
समाजः कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको निर्णय पालना गराउँदै गर्दा नागरिकहरुबाट कस्तो खालको अपेक्षा गर्नुभएको छ ?
अधिकारीः प्रहरीले मात्र नियन्त्रण गरेर हुन्न । सबै नागरिक मिलेर कोरोना नियन्त्रणमा लाग्नुपर्छ । कोरोना किन र कसरी फैलिन्छ भनेर सबैलाई जानकारी छ । नागरिकले पहिला भन्दा धेरै नै नियमको पालना गर्नुभएको र मास्क लगाउनुभएको पाएका छौं ।