हेटौंडाः हेटौंडा–९ स्थित प्रगति माविको व्यवस्थापन समितिमा ४ जना सदस्य चयन भएका छन् । बिहीबार ४ जना सदस्य चयन भएका हुन् । एक महिनाअघि भएको अभिभावक भेला तथा व्यवस्थापन समिति गठनको प्रक्रियामा २ जना महिलासहित ४ जना सदस्य चयन गर्न खोजिए पनि २६ जनाको उम्मेदवारी परेपछि सदस्य चयन हुन सकेको थिएन ।
गत चैत १४ गते भएको अभिभावक भेलामा २६ जना अभिभावकले सदस्य हुन उम्मेदवारी दर्ता गराएका थिए । एक महिनापछि सर्वसम्मत रुपमा नारायणी पराजुली, रिता कुँवर, प्रदिप पराजुली र सुरेश मिजारलाई सदस्य चयन गरेको विद्यालयका सहायक प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनुभएको छ ।
अभिभावकमध्येबाट २ जना महिलासहित ४ जना निर्वाचित गरेपछि एकजना महिलासहित दुईजनालाई मनोनित गरिनेछ । मनोनित हुने दुईजनामा चन्दादाता तथा शिक्षासेवी हुनुपर्नेछ । यसैगरी शिक्षक प्रतिनिधि र वडा प्रतिनिधि समेत निश्चित भएपछि विद्यालय व्यवस्थापन समितिका सदस्यमध्येबाट एकजना अध्यक्ष चयन गरिनेछ ।