हेटौंडाः मकवानपुरमा सातामा ३ दिनमात्र बैंक तथा वित्तिय संस्थाहरु खुल्ने भएका छन् । सातामा सबै बैंकहरुले आलोपालो गर्दै बिहान ११ बजेदेखि २ बजेसम्म सेवा प्रवाह गर्ने भएका हुन् । मंगलबार कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्न प्रमुख जिल्ला अधिकारी र बैंक तथा वित्तिय संस्थाको प्रमुखहरु बिच बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्लामा कोभिड–१९ को जोखिम बढ्दै गएको भन्दै बैंकहरुमा हुने भीडभाड कम गर्न २४ सै घण्टा एटीएम मेशिन संचालनमा राखिने भएको छ । सहकारीलेहरुले बजार तथा घरमा गएर नगद संकलन कार्य बन्द गर्ने र आलोपालो गर्दै सातामा ३ दिन बिहान ११ बजेदेखि २ बजेसम्म सेवा प्रवाह गर्नुपर्ने भएको छ । बैंकहरुको सेवा प्रवाहको व्यवस्था बैंकर्स एसोसिएसन मकवानपुर र सहकारीको सेवा प्रवाह जिल्ला सहकारी संघले व्यवस्था गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिनुभयो ।