हेटौंडाः २०७२ सालको भूकम्पमा परी निधन भएका नेपाली भलिबल टिमका तत्कालिन प्रमुख प्रशिक्षक केशवलाल श्रेष्ठ र खेल पत्रकार सुमन भोम्जनको स्मरण गरिएको छ । भूकम्प गएको ६ वर्ष पूरा भएको दिन आइतबार हेटौंडा–४ स्थित जिल्ला खेलकुद विकास परिसरमा केशवलाल श्रेष्ठको अर्धकदको प्रतिमा रहेको स्थानमा खेलसम्बद्ध व्यक्तिहरुको उपस्थितिमा प्रशिक्षक श्रेष्ठ र पत्रकार भोम्जनको स्मरण गरिएको हो । श्रेष्ठ हेटौंडा–४ का स्थायी बासिन्दा हुनुहुन्थ्यो भने भोम्जन हेटौंडा–१० का स्थायी बासिन्दा हुनुहुथ्यो ।
२०७२ साल बैशाख १२ गतेको भूकम्पमा परी श्रेष्ठ र भोम्जनको काठमाडौंमा निधन भएको हो । आइतबार केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा भलिबल खेलका प्रशिक्षक तथा खेलाडी, जिल्ला खेलकुद विकास समितिका कर्मचारीको उपस्थितिमा स्मृति सभाको आयोजना गरिएको हो । स्मृति सभामा मौन धारण गर्नुका साथै केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानका महासचिव बसन्तकुमार सिटौलाले प्रमुख प्रशिक्षक केशवलाल श्रेष्ठ र पत्रकार सुमन भोम्जनको व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो ।
प्रतिष्ठानका सदस्य एवम् भलिबल प्रशिक्षक शंकर कार्कीको संयोजनमा भएको कार्यक्रममा भूकम्पमा परी दिवंगत भएकाहरुको स्मरण र उनीहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वल गरिएको थियो । कार्यक्रममा सहभागीले स्वर्गीय श्रेष्ठको अर्धकदको प्रतिमामा खादा ओढाएर सम्मान व्यक्त गरिएको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका प्रमुख खुशराज दाहालको पनि उपस्थिति रहेको थियो ।