जिल्ला ट्राफिक प्रहरी कार्यलय भवनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः २३ वर्षपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आफ्नो भवन पाएको छ । बागमती प्रदेशको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको भवन आइतबार उद्घाटन गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पौडेलले मुलुकमा शान्ति सुरक्षा कायम भएमात्र सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक तुल्याउन सकिने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागि मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्ने बताउनुभएको हो ।

उहाँले संघीय सरकारबाट अनुमति लिएर प्रदेश सरकारले प्रहरी भवनहरुको निर्माणमा दतारुकताका साथ अघि बढेको बताउनुभयो । प्रदेश सरकारले प्रदेशमा एकैपटक ४६ प्रहरी चौकी निर्माण गरिरहेकोमा हेटौंडा–१५ रातोमाटेमा रहेको प्रहरी चौकी र हेटौंडा–११ थानाभर्‍याङमा निर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालय भवनसहित ३२ वटा निर्माण सम्पन्न भई उद्घाटन भइसकेको पनि मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो । तीनै तहको सरकारको गन्तब्य एउटै भएको बताउँदै मुख्यमन्त्री पौडेलले जनताले महशुस गर्ने काम सरकारले गरेको दाबी गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले प्रदेश सरकारले प्रहरी चौकी निर्माणमा गरेको सहयोगको प्रशंसा गर्दै प्रहरीलाई दिइएका जिम्मेवारी पूर्णरुपमा पालना गर्ने प्रतिबद्धतासमेत ब्यक्त गर्नुभयो ।

१ करोड ७३ लाख ३० हजार ३ सय ७३ रुपैयाँका दरले दुईवटा प्रहरी कार्यालय भवन निर्माणको जम्मा लागत ३ करोड ४६ लाख ६० हजार ७ सय ४७ रुपैयाँ रहेको जनाइएको छ ।
कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, बागमती प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेललगायतको आतिथ्यता रहेको थियो ।