हेटौंडाः मकवानपुरमा सम्पन्न ११ औं राष्ट्रपति रनिङशिल्डको उपाधी बकैया गाउँपालिकाको बुद्ध माविले जितेको छ । सोमबार सम्पन्न जिल्लास्तरीय रनिङशिल्ड प्रतियोगितामा बुद्ध माविले समग्रमा सर्वाधिक ६ स्वर्ण ३ रजत र २ कास्य पदकसहित उपाधी जितेको हो ।
बुद्ध माविलाई उपाधी जिताउनका लागि छात्र आयुष नेगीले सर्वाधिक ४ स्वर्ण हात पारेका छन् । उनले एथलेटिक्सतर्फका ४ सय मिटर दौड, ८ सय मिटर दौड, १ सय मिटर रिले र ४ सय मिटर रिलेमा स्वर्ण जितेका हुन् । उनी एथलेटिक्स बिधामा उत्कृष्ट खेलाडी समेत घोषित भए ।
यस्तै एथलेटिक्समै छात्रातर्फ जनक मावि बकैयाकी पविना दर्जीले सर्वाधिक ३ स्वर्ण र २ रजत जित्दै उत्कृष्ट खेलाडी घोषित भइन् । उनले ४ सय मिटर दौड, १ सय मिटर रिले र ज्याभलिङ थ्रोमा स्वर्ण जितेकी हुन् भने २ सय मिटर दौड र ४ सय मिटर रिलेमा रजतमै चित्त बुझाएकी थिइन् ।
यसैगरी समग्रमा ४ स्वर्ण ४ रजत र ३ कास्य पदक जित्दै महेन्द्र मावि बकैया रनिङशिल्डको दोस्रो स्थान ओगट्न सफल रह्यो भने ४ स्वर्ण २ रजत र २ कास्य पदक जितेको जनकल्याण मावि थाहा तेस्रो स्थानमा सिमित भयो । प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने विद्यालयलाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामालगायतले पुरस्कार वितरण गर्नुभयो ।