वृक्षारोपण गरिदैँ

हेटौंडाः वनस्पति अनुसन्धान केन्द्र मकवानपुरले २२ औं वनस्पति दिवस र वनस्पति विभागको ६१ औं वार्षिकोत्सवको अवसरमा वनस्पति संरक्षण, वृक्षरोपण र सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । वनस्पतिको महत्व र जडीबुटी खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले तीन दिवसीय अभियान सुरु गरेको वनस्पति अनुसन्धान केन्द्रका कार्यालय प्रमुख रघुनाथ पराजुलीले जानकारी दिनुभयो ।

आइतबार थाहा नगरपालि वडा नम्बर १ स्थित टिस्टुङ वनस्पति उद्यानमा सचेतनामूलक कार्यक्रम गरिएको छ । कार्यक्रम वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका कार्यालय प्रमुख रघुनाथ पराजुलीको अध्यक्षता तथा थाहा नगरपालिकाका उपमेयर खड्ग गोपालीको प्रमुख आतिथ्यतामा भएको हो ।

वनस्पति अनुसन्धान केन्द्रले थाहानगरको सुनौलो माविका कक्षा १० का करिब ४५ जना विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा जडीबुटीको महत्व र संरक्षणका उपायबारेमा सचेतना प्रदान गरिएको कार्यालय प्रमुख पराजुलीले बताउनुभयो । उहाँका अनुसार शनिबार हेटौंडा–१३ स्थित वनस्पति उद्यानमा संरक्षण, सरसफाई र वृक्षरोपणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमका अवसरमा शनिबार उद्यानमा ३० वटा भन्दा बढी रुद्राक्षका विरुवा रोपिएको थियो । कार्यक्रम बागमती प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव सिन्धु ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको हो ।

यस्तै, सोमबार थाहानगरस्थित पर्वतीय वनस्पति उद्यान दामनमा पनि कार्यक्रम सञ्चालन गरिने कार्यालय प्रमुख पराजुलीले जानकारी दिनुभयो । प्रदूषण र विनाशबाट वन तथा वनस्पति जोगाउन अभियान थालेको उहाँले बताउनुभयो । नेपालमा अहिले ११ वटा वनस्पति उद्यानहरु रहेका छन् । जसमध्ये मकवानपुरमा ३ वटा रहेका छन् । मकवानपुरको थाहा नगरपालिकामा २ वटा र हेटौंडामा एउटा वनस्पति उद्यान रहेको छ ।