हेटौडाः बागमती प्रदेशले रसुवा जिल्लाको गोसाइकुण्डको एकिकृत विकासको लागि पाँच करोड रुपैयाँ खर्च गर्दैछ । धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित गोसाइकुण्डको एकिकृत विकासको लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले काम गर्ने भएको हो ।
गोसाइकुण्ड गाउँपालिकाको गोसाइकुण्डमा प्रदेश सरकारले नाच घर निर्माण गर्ने भएको छ । गोसाइकुण्डसम्म जाने बाटोमा ५ फिट चौडा भएको १३ सय मिटर लम्बाई सम्म ढुंगाको सिढी निर्माण गरिने सहरी विकास तथा भवन कार्यालय नुवाकोटका प्रमुख सञ्जय पाण्डेले बताए ।
गोसाइकुण्डमा ताल वरपर ढुंगा छाप्ने, कुन्डको वरिपरी रेलिङ हाल्ने, स्नान घर, चेन्जिङ रुम, शौचालय, सोलार बत्ति जडान, खानेपानीको पाइप ६ सय मिटर जडान गर्ने, २ वटा पाटीपौवा निर्माण गरिने, गोसाइकुण्डको त्रिशुल धारामा २४ सै घण्टा बग्ने पानिको लागि कुण्डको अन्त्यसम्म डेढ सय मिटरको नाला निर्माण गर्ने एकिकृत परियोजनामा समावेश भएको प्रमुख पाण्डेले जानकारी दिए । सहरी विकास तथा भवन कार्यालय नुवकोटले धादिङ र रसुवा जिल्लामा कार्य गर्दै आएको छ । भवन कार्यालयका प्रमुख सञ्जय पाण्डेले गोसाइकुण्डमा हालको लागि भगवान शिवको स्मारक बनाइने र निर्माण पश्चात अग्लो मुर्ति राखिने जनाए । यसैगरी अमर सिंहको पनि स्मारक बनाइने र पछि शालिक राखिने उनले जानकारी दिए । यो हप्ताभित्रै आशय पत्र जारी गरेर निर्माण कम्पनिसँग ठेक्का सम्झौता हुने उनले बताए । सम्झौता भएको २६ महिनाभित्रै निर्माण सम्पन्न हुनेगरी गोसाइकुण्डको एकिकृत विकास प्रक्रिया अघि बढ्ने उनको भनाई छ ।
गोसाइकुण्डको एकिकृत विकासको लागि गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ्ग नुर्पु तामाङ लागायत रसुवा जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधहरुसँग धेरै पटक छलफल भएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले बताए । उनले टुक्रा टुक्रा योजनाहरु भन्दा सबै योजनाहरुलाई एउटै प्याकेज बनाएर काम गर्न सुरु गरेको बताए । गोसाइकुण्डमा बन्ने सबै भौतिक पूर्वाधारको संरचना अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी हुने उनले दाबी गरेका छन् ।
गोसाइकुण्डको तालतलैया जोगाउने, संस्कृती, धार्मिक विश्वासलाई कसरी जोगाउने भन्ने विषयलाई आपूm गम्भिर रहेको मन्त्री फुयाँलले बताए । उनले आउँदो बैशाख ७ गते प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले गोसाइकुण्ड एकिकृत विकास परियोजनाको शिलान्यास गर्ने जानकारी दिए । जनैपूर्णीमामा हिन्दु र बुद्धिष्टले गोसाइकुण्डमा एकैथानमा पुजा गर्ने गरेका छन् ।