हेटौंडाः हेटौंडा–२, बासुदेवमार्गस्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका विद्यार्थीले वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षामा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई शुक्रबार एक समारोहका बीच पुरस्कार वितरण गरिएको हो ।
यस्तै पुरस्कार वितरण समारोहकै बीच विद्यालयले नृत्य तथा गायन प्रतियोगिताको आयोजना गरेको छ । विद्यार्थीले नाटक समेत मञ्चन गरेका छन् । नृत्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका ५५ जना विद्यार्थी सहभागी छन् भने गायनतर्फ १६ जना विद्यार्थी सहभागी छन् । प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई शिल्ड प्रदान गरिने विद्यालयका प्रिन्सीपल विनोद सुवेदीले जानकारी दिनुभएको छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शिक्षा विकास महाशाखा प्रमुख रिमालले गायन, नृत्य, नाटक मञ्चन जस्ता क्रियाकलापले विद्यार्थीको नियमित पठनपाठनमा सहयोग पुग्ने बताउनुभयो । विद्यालयले प्रभावकारी पठनपाठनमा ध्यान दिनुपर्नेमा पनि रिमालले जोड दिनुभयो ।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) को केन्द्रीय समितिकी सहकोषाध्यक्ष ग्रेस श्रेष्ठले विद्यार्थीले समाज र मुलुकको भविष्यलाई दर्शाउने भएकोले विद्यार्थीको क्षमता विकास गर्न विद्यालयसँगै अभिभावकले पनि ध्यान दिनुपर्ने बताउनुभयो । अभिभावकले विद्यार्थीको नियमित पठनपाठनमा सहयोग एवम् सहजीकरण गर्नुपर्नेमा श्रेष्ठले जोड दिनुभएको छ ।