हेटौंडाः जेसीआई हेटौंडाको जेसीज सप्ताहअन्तर्गत्को सप्ताहव्यापी कार्यक्रम बुधबारबाट सुरु भएको छ । जेसीआई हेटौंडाले हेटौंडाको वनस्खण्डीमा क्रस कन्ट्री साइक्लिङ च्याम्पियन प्रतियोगिता आयोजना गर्दै सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरेको छ ।
७ ल्यापमा २ दशमलव ३ किलोमिटर दूरी १ घण्टा १९ मिनेट ३८ सेकेण्डमा पार गर्दै एपीएफ क्लबका खेलाडी सिन्धुपाल्चोकका सुरज राना प्रथम भएका छन् । प्रतियोगितामा काठमाडौंका एलिन महर्जनले निर्धारित दूरी १ घण्टा २० मिनेट ३२ सेकेण्डमा पार गर्दै दोस्रो भए भने १ घण्टा २० मिनेट ३२ सेकेण्डमा निर्धारित दूरी पार गरेका धादिङका लक्ष्मण मल्ल तेस्रो भएका छन् । प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ९ हजार, ६ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
मकवानपुरका ५ जना र अन्य जिल्लाका ९ जना गरी १४ जनाको सहभागिता रहेको प्रतियोगिता जेसीआई हेटौंडाका वर्ष २०२१ का अध्यक्ष लिसेन बस्नेतको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष सानु लामाको प्रमुख आतिथ्य रहेको थियो ।