हेटौंडाः हेटौंडा–१३, पदमपोखरीस्थित महेन्द्र माध्यमिक विद्यालयको २१ कोठे भवनको बिहीबार शिलान्यास गरिएको छ । ५ करोड ३५ लाखको लागतमा निर्माण हुन लागेको भवनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास गर्नुहँदै मुख्यमन्त्री पौडेलले श्रमबजारमा बिक्ने शिक्षामा जोड दिएर विद्यालयलाई दक्ष जनशक्ति उत्पादनको थलोको रुपमा चिनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालनमा प्रदेश सरकारले आवश्यक कार्य गरिरहेको बताउनुभयो ।

२०७२ सालको भूकम्पले विद्यालयको पुरानो भवनमा क्षति पुर्‍याएको थियो । भूकम्पपछि असुरक्षित भनेर रातो स्टिकर टाँसिएको विद्यालयको भवन भत्काएर २१ कोठे भवन बन्न लागेको हो । आपतकालीन विद्यालय पुनर्निर्माण आयोजनाले निकालेको भवन निर्माणको ठेक्का ललितपुरको शर्मा÷एएम जेभीले पाएको छ । १८ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने गरी गत माघ २४ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको हो । कम्पनीले आगामी २०७९ साउन २० गतेसम्म भवन निर्माण सम्पन्न गर्नुपर्ने छ ।

निर्माण हुन लागेको २१ कोठे भवनको १५ वटा कोठालाई कक्षाकोठाको रुपमा उपयोग गरिने भएको छ । २ वटा कोठामा कम्प्युटर प्रयोगशाला, एउटा कोठामा पुस्तकालय, एउटा कोठामा लेखा शाखा, एउटा कोठा प्रधानाध्यापकको कक्ष तथा २ वटा कोठामा इसीडी कक्षा सञ्चालन गरिने प्रधानाध्यापक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । इसीडीदेखि कक्षा १२ सम्म पढाई हुने विद्यालयमा ९ सय ७१ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

विद्यालय भवन निर्माण सम्पन्न भएपछि विद्यालयलाई आवश्यक भौतिक संरचना पर्याप्त हुने प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो । शिलान्यास कार्यक्रममा बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलान, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख बद्रीबहादुर पाठकलगायतको उपस्थिति थियो ।