खेलसामग्री हस्तान्तरणपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयले नगरकप फुटबल तथा भलिबल खेल्ने खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग गरेको छ । हेटौंडामा फागुन १४ गतेबाट सुरु हुने मेयरकप वडास्तरीय फुटबल प्रतियोगिता र १९ गतेबाट सुरु हुने उपमेयरकप भलिबल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई बिहीबार एक कार्यक्रमका बीच खेलकुद सामग्री प्रदान गरेको हो ।

फुटबल खेलाडी अमीर श्रेष्ठलाई खेल सामग्री हस्तान्तरण गर्नुहुँदै वडा अध्यक्ष लक्षमण भण्डारी ।

वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले खेलाडीलाई आवश्यक जर्सी, ट्र्याक, जुराफ र बुट प्रदान गर्नुभएको हो । उहाँले वडाको विकाससँगै खेलकुदको विकासमा पनि वडा उत्तिकै जिम्मेवार रहेको जानकारी दिनुहुँदै प्रतियोगितामा खेलाडीलाई आवश्यक परेको खण्डमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले स्थानीयस्तरमा हुने प्रतियोगिताले खेलाडीलाई अगाडि बढ्न हौसला मिलेको समेत बताउनुभयो ।

प्रतियोगिताका लागि वडाले राष्ट्रियस्तरमा हुने ‘ए’ डिभिजन फुटबल खेलिरहेका वडाका खेलाडी अमीर श्रेष्ठको कप्तानीमा पुरुष फुटबल टिम र आयुषा सिंहको कप्तानीमा महिला भलिबल टिम तयार पारेको छ ।